पृथ्वी नजिक आउँदैछ ‘ऐस्टेरायड’
काठमाडौँ । सौर्यमण्डलमा रहेको मंगल ग्रह र वृहस्पति ग्रहको आकाशिय दूरीको बीचमा एउटा बेल्ट छ, जसलाई वैज्ञानिकहरुले ‘एस्टेरायड बेल्ट’ नामाकरण गरेका छन्। उक्त क्षेत्रमा एक मिटरदेखि दश लाख मिटरसम्मको डायमिटर भएका लाखौँ खगोलिय पिण्डहरु छन्। जसलाई खगोल वैज्ञानिकहरुले ‘ऐस्टेरायड’ नाम दिएका छन्।
यस्ता ‘ऐस्टेरायड’हरु सूर्यको परिक्रमा गर्ने क्रममा कहिलेकाहीँ पृथ्वीको नजिकै भएर जाने गर्छन्। सन् २००६ को अगष्ट २१ मा खगोल वैज्ञानिकहरुले एउटा यस्तै खालको ‘ऐस्टेरायड’को पहिचान गरे। जतिवेला उक्त ‘ऐस्टेरायड’ सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिकै भएर अगाडी बढिरहेको थियो।
नासाका वैज्ञानिकहरुले त्यतिवेला उक्त ‘एस्टेरायड’लाई लगातार १० दिनसम्म पछ्याएका थिए। सोही समयमा नासाका वैज्ञानिकहरुले उक्त ‘ऐस्टेरायड’ लाई ‘२००६ क्युक्यु २३’ नाम दिएका थिए। २००६ मा पृथ्वीको नजिकै भएर गएको उक्त ‘एस्टेरायड’ २०१९ मा फेरी एकपटक पृथ्वीको नजिकै हुँदै सूर्यको परिक्रमा गर्ने क्रममा छ। वैज्ञानिकहरु यतिवेला दक्षिण अमेरिकी राष्ट्र चिलीमा रहेको टेलिस्कोपमार्फत यसको अनुसन्धानमा जुटेका छन्।
वैज्ञानिकहरुका अनुसार उक्त ‘ऐस्टेरायड’ सूर्यको परिक्रमा गर्ने क्रममा आगामी अगष्ट १० मा पृथ्वीको सबैभन्दा नजिक आउने छ। यसपटक नासाका वैज्ञानिकहरु यसको आकार–प्रकार र प्रकृतिको बारेमा अध्ययन, अनुसन्धान गर्नेछन्। ‘एस्टेरायड कमेट’ जस्ता खगोलिय पिण्डहरु आफ्नो बाटोमा रहेर प्राकृतिक रुपमा सूर्यको परिक्रमा गर्छन्। यस क्रममा विभिन्न खगोलिय पिण्डहरु पृथ्वीको नजिकै भएर अगाडि बढ्छन्। यिनिहरुको पृथ्वीसँग ठोकिने सम्भावना अत्यन्तै कम हुन्छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका ‘सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज’ का म्यानेजर पाल चडसका अनुसार हालसम्म भएका २० हजारभन्दा बढी अनुसन्धानहरुले कुनैपनि आकाशिय पिण्डले सूर्यको परिक्रमाको क्रममा पृथ्वीसँग ठोक्किने सम्भावना ‘१० हजारमा एक’ मात्रै हुने स्पष्ट पारेका छन्।
२००७ मा उक्त ‘एस्टेरायड’ पृथ्वीको नजिकबाट जाँदा अध्ययनको क्रममा यसको डायमिटर २५४ देखि ५६८ मिटरसम्म रहेको पत्ता लागेको थियो। सो ‘एस्टेरायड’ ले सूर्यको एकपटक परिक्रमा गर्न २६३ दिन लगाउँछ। जसलाई वैज्ञानिकहरुले ‘अटेन’ श्रेणीको ‘एस्टेरायड’ अन्तर्गत राखेका छन्। ‘अटेन’ को अर्थ, ‘सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिकै भएर जाने एस्टेरायड’ भन्ने हुन्छ।
नासाले गरेको अध्ययनले उक्त ‘एस्टेरायड’ अगामी अगष्ट १० मा पृथ्वीबाट ७४ लाख ४५ हजार ५ सय ९२ किलोमिटरको दुरीमा आउने छ। पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ८४ हजार किलोमिटर रहेको छ। अगस्ट १० मा उक्त ‘ऐस्टेरायड’ पृथ्वी र चन्द्रमाको दूरीभन्दा करिब २० गुणा बढी टाढाबाट रहनेछ। जसको पृथ्वीमा खस्ने सम्भावना ‘७ हजारमा एक’ मात्रै रहेको छ। यदि उक्त ‘एस्टेरायड’ पृथ्वीको गुरुत्वाकर्षणका कारण पृथ्वीमा खसेमा ठूलो विनास हुने सम्भावना हुन्छ।एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २० सोमबार