एनटीएले हटायो आफ्नो वेबसाइटमा ह्याकरले राखेका बेटिङ सामग्री

भक्तपुर न्यूज

१७ पुष २०८१ १३:३५

एनटीएले हटायो आफ्नो वेबसाइटमा ह्याकरले राखेका बेटिङ सामग्री

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा ह्याकरले राखेका बेटिङ प्रचार सामग्री हटेका छन् । मङ्गलबार मात्रै टेकपानाले इन्डोनेसियाली ह्याकर समूह ‘मनाडो मेगा टिम’ले नियामकको वेबसाइट ह्याक गरेको समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भए लगत्तै प्राधिकरणको प्राविधिक टोली खटिएर समाचार आएको चार घण्टामै वेबसाइट पुनः आफ्नो नियन्त्रणमा लिएको प्राधिकरणका निर्देशक विजयकुमार रोयले दाबी गरेका छन् । उनले प्राधिकरणको वेबसाइटमा कसरी, कहाँबाट अनि कसले पहुँच अनधिकृत पहुँच बनायो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

ह्याकरहरूले प्राधिकरणको वेबसाइट एक सातादेखि नियन्त्रणमा लिएर अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘आईडेटोटो’को प्रचार गरिरहेका थिए । गुगलमा  ‘site:nta.gov.np/source/’ सर्च गर्दा ३०० भन्दा बढी पेजमा सट्टेबाजीका विज्ञापन देखाइरहेको थियो । यस्ता पेजमा इन्डोनेसियाली गीत र सन्देशहरू समेत राखिएका थिए ।

अहिले ती लिङ्क खोल्दा ‘४०४ इरर’ (कुनै यूआरएलमा भएको पेज हटाउँदा देखिने सूचना) देखिन थालेको छ । कुन सुरक्षा कमजोरी प्रयोग गरी ह्याकरले दूरसञ्चार क्षेत्रको नियामक निकायकै वेबसाइट ह्याक गरे भन्ने विषय अझै यकिन भइसकेको छैन । यस्तोमा साइबर सुरक्षा क्षेत्रमा नियामक निकायको चर्को आलोचना समेत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *