दुःखमा जन्मियो, सुख र सफलता साट्ने लोकप्रिय माध्यम बन्दै : हर्क पडकास्ट
दुबई । कोरोना महामारीबाट विश्व आक्रान्त थियो । क्षणक्षणमा मानिसले ज्यान गुमाइरहेका समाचार आइरहेका थिए । यो कहालीलाग्दो अवस्थाबाट युएईको शहर दुबई पनि अछुतो थिएन । धेरै जना रोजगारविहीन भएर बसिरहेका थिए । त्यही फुर्सदको समयमा दुबईमा रहेका नेपालीले अनुभव साटासाट गर्ने, सूचना आदानप्रदान गर्ने माध्यम खोजे। केही नेपालीहरुले कुरैकुरामा त्रासपूर्ण वातावरणमा मन बहलाउन छोटा चलचित्र श्रृंखला, संगीत, भिडियो साटासाट गर्ने र दुबईमा बसोबास गरिरहेकाहरूसँग कुराकानी थाल्ने निर्णय गरे ।

यसै सन्दर्भमा हर्क लोप्चन र अनुप तामाङले थाले ‘हर्क पडकास्ट’ । ह्याट मिडियाबाट सञ्चालित हर्क पडकास्ट २०८० फागुनदेखि सुरु भई हालसम्म सञ्चालन भइरहेको छ । यो मध्यपूर्वको पहिलो पडकास्ट हो । अहिले हर्क पडकास्ट युएईको दुबईमा रहेका नेपाली दाजुभाइहरु दिदी बहिनीहरूकेा सुखदुःख साट्ने लोकप्रिय माध्यम बन्दै गएको छ ।
हालै पडकास्टको एक सय भाग सफलतापूर्वक कार्यक्रम सञ्चालन भएको छ । यस अवसरमा पडकास्टका अतिथि तथा दुबईमा रहेका नेपालीहरुले खुसी साटासाट गरेर मनाएका छन् । कार्यक्रममा पडकास्टका संस्थापक अनुप तामाङले कोभिडकालको तितो अनुभव साट्दै भने, ‘कोभिडको समयमा धेरै साथीहरू दुबई छोडेर गए, त्यही समयमा दुबइमा भएका साथीहरू बसेर छलफल गर्यौं कि अब पहिलाजस्तो समय छैन, त्यसैले केही परीणाम मुखी तथा अनुभव साट्ने कुरा गरौँ भन्ने कुरा आयो ।’
कार्यक्रममा अर्का संस्थापक एवम् मुख्य होस्ट हर्क लोप्चनले विदेशमा बसेका नेपालीहरूलाई आफूले भोगेका कथा मात्र नभइ अनुभवका साथै सिप साट्ने माध्यमको खाँचो भएको महसुसबाट हर्क पडकास्टको जन्म भएको स्मरण गरे । उनले भने, ‘दुबईमा रहेका केही नेपालीहरुको अवस्था निकै परिवर्तन भएको छ, जसको सफलताका कथा तथा उहाँहरुको अनुभव दुबईमा बसेका नेपालीहरु माझ नभएर नेपालमा समेत प्रेरणादायी बन्न सक्छ । उहाँहरुको अनुभव तथा संघर्षका कथा सुनाउने माध्यम बनोस् भन्ने चाहना पनि हो हर्क पडकास्ट ।’
दुबइ रोजगारी, व्यवसायी र पर्यटकका लागि आकर्षक गन्तव्य भएको छ । तर ती सबैका सफलता, असफलता र सम्भावनाका कथा छन् । त्यसलाई सार्वजनिक गर्ने उद्देश्यले सुरुमा नेपालीहरुले सानो जागिरबाट सुरु गरेर ठूलो पदमा पुग्न कसरी सफल भए भन्ने सफलताको कथा सार्वजनिक गर्ने योजना बनाइएको थियो । तर विभिन्न विधालाई समेटेर अघि बढेको हर्क लोप्चन बताउँछन् ।
‘सुरुमा हामीले यूएईमा नेपालीहरू जसले सानो जागिरबाट सुरुवात गरेर राम्रो ठूलो पदमा कसरी पुग्यो भन्ने प्रेरणादायक कथाहरूको योजना बनाएका थियौं, तर पछिल्लो समयमा धेरै स्टोरी टेलिङका कथा आए, अनि हामीहरु पनि विभिन्न विधा तर्फ गयौं र सबैको साझा चौतारी बन्ने प्रयास गरेका छौं ।’ अझै जति मानिसहरुबीच पुग्नु पर्ने हो त्यति पुग्न नसकेका भन्दै उनले सकेसम्म सबैमाझ पुग्ने प्रयास गरिरहेको बताए ।

पडकास्टको मुख्य होस्ट नै हर्क लोप्चन हुन् । उनलाई बोल्ने धेरै रुचि पनि थियो । त्यसैले पडकास्टको नाम पनि उनकैको नामबाट राखिएको अर्का संस्थापक अनुप तामाङ बताउँछन् ।‘हर्का लोप्चन मुख्य होस्ट हुनुहुन्छ र होस्टिङ/एडिटिङको जिम्मेवारी लिनुहुन्छ,’ अनुप भन्छन्, ‘म को–होस्टका रूपमा र पोडकास्टको व्यवस्थापनको जिम्मेवारीमा छु ।’
पडकास्टका सुरुवातमा चार जनाको टोली थियो तर केही महिनापछि दुई जना साथीहरुले समयको अभाव र व्यस्तताका कारण निरन्तरता दिन सकेनन् । अहिले हर्क र अनुपले मात्रै काम जारी राखेका छन् ।हर्क पडकास्टले अरुको सफलताका कथा मात्र होइन, विश्व कीर्तिमानी भएर पनि देशले चिन्न नसकेर दुबईमा काम गर्न बाध्य भइरहेका अमृत बस्नेतको कथा समेत उजागर गरेको छ ।