अनर २०० सिरिज नेपाली बजारमा आउँदै
काठमाडौं । नेपाली बजारमा अनरको पछिल्लो स्मार्टफोन सिरिज अनर २०० भित्रिने भएको छ । हालै चीनमा सार्वजनिक भएको यो सिरिज चाँडै नै नेपाली उपभोक्तामाझ आउन लागेको हो ।
याे सिरिज अन्तर्गत अनर २०० लाइट, अनर २०० र अनर २०० प्रो गरी तीन मोडेल सार्वजनिक भएका छन् । नेपालमा कुन कुन माेडेल उपलब्ध हुने भन्ने विषयमा कम्पनीले जानकारी दिएकाे छैन ।
‘द पोट्रेट मास्टर’ ट्यागलाइनका साथ कम्पनीले याे सिरिजकाे प्रचार गरिरहेकाे छ । कम्पनीका अनुसार यी फोनहरूमा आधुनिक एआई सुविधा र उत्कृष्ट पोट्रेट फोटोग्राफीको लागि विश्वकै महँगाे स्टुडियाे हार्कोर्ट स्टुडियोसँग सहकार्य गरिएको छ ।
अनरको नेपालस्थित आधिकारिक वितरक सेल्ट्रोनका अनुसार यो सिरिजका फोन ८ जीबी र्याम तथा १२८ स्टोरेजदेखि १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन् । कम्पनीले फोनको मूल्य र सार्वजनिक हुने मिति खुलाएको छैन ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार