देशका १० हजार स्थानमा वर्ल्डलिंकको फ्री वाईफाई विस्तार

भक्तपुर न्यूज

३० भदौ २०७७ ७:४७

देशका १० हजार स्थानमा वर्ल्डलिंकको फ्री वाईफाई विस्तार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको हो ।

स्थापनाको २५ औं वर्षगाँठ मनाइरहेको वर्ल्डलिंकले देशैभर वाईफाई विस्तार गरिरहेको छ । कम्पनीका अनुसार हाल दैनिक एक लाख ५१ हजारले पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् ।

कम्पनीले डेढ वर्षअघि १० हजार स्थानमा पब्लिक वाईफाई सेवा दिने योजना ल्याएको थियो । फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको हो ।

पब्लिक अर्थात सार्वजनिक वाईफाईबाट नाफा आर्जन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय विश्वमै एउटा बहसको रुपमा रहेको छ । नेपालमा यस्ता धेरै जनता छन्, जोसँग अहिले पनि तीब्र गतिको फिक्स्ड ब्रोडब्याण्ड खरीद गरेर प्रयोग गर्ने क्षमता छैन ।

नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये धेरैले मोबाइल डेटा प्रयोग गर्ने गरेका छन् । तर, डेटा महंगो भएकाले निश्चित काम सकेपछि डेटा अफ गर्नुपर्ने तथा फारुतिनो रुपमा प्रयोग गर्नुपर्ने बाध्यतामा उनीहरु हुन्छन् ।

यसले गर्दा ढुक्क भएर इन्टरनेटको आनन्द लिन पाउँदैनन् । खासगरी त्यस्तै किसिमका प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले फ्री वाईफाई दिन थालेको हो ।

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टासम्म निस्शुल्क इन्टरनेट चलाउन पाउनेछन् । त्यसपछि फेरि लगइन गरेर इन्टरनेट चलाउन सकिन्छ ।

फ्री वाईफाईलाई कम्पनीले आफ्नो ब्राण्ड प्रवर्द्धनको रुपमा समेत उपयोग गरिरहेको छ । मन्दिर, अस्पताल, बसपार्क, क्याफे तथा रेष्टुरेन्ट लगायतका धेरै संख्यामा मानिसहरु जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

यसका लागि क्याफे तथा रेष्टुरेन्टबाट जडान वापतको न्यूनतम शूल्क लिने गरिएको छ । तर प्रयोगका लागि भने कुनै शुल्क तिर्नुपर्दैन ।

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *