फेसबुकमा पनि टिकटकजस्तै भिडियो बनाउन मिल्ने नयाँ फिचरको तयारी
काठमाडौं । टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ। यो फिचर ‘न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ।
हाल भारतमा परीक्षण भइरहेको यो छोटो भिडिओ फिचर टिकटक कै जस्तो भएको सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकको छोटो भिडिओ फिचरमा टिकटक जस्तै भिडिओ हेर्न ‘स्क्रोल’ गर्नुपर्छ।
त्यस्तै यसमा कमेन्ट्स र लाइकको पनि सुविधा छ। फेसबुकले हालै इन्स्टाग्राममा पनि टिकटककै जस्तो ‘रिल्स’ फिचर ल्याएको छ। अब यस्तै फिचर फेसबुकमा ल्याउने तयारी भएको हो। यो परीक्षण सफल हुन्छ/हुँदैन वा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ/हुँदैन भन्ने यकिन छैन।
तर हाल भारतमा एन्ड्रोइड फोनहरूमा फेसबुकको नयाँ संस्करणमा यो सुविधा उपलब्ध भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
टेक क्रन्चका अनुसार फेसबुकका प्रवक्ताले पनि यसबारे जानकारी दिँदै भनेका छन्,’ हामी सधैं नयाँ र रचनात्मक फिचरका बारे परीक्षण गरिरहेका हुन्छौं। छोटा भिडिओ बनाउनु अचेल धेरै लोकप्रिय छ। हामी यो अनुभव फेसबुकमा दिन चाहन्छौं।’
भारतमा टिकटक बन्द भएपछि छोटा भिडिओ बनाउन मिल्ने विभिन्न एपहरू सार्वजनिक भइरहेका छन्। एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ०१ सोमबार