अब हावाबाटै प्रोटिन पाईने वैज्ञानिकहरुको दाबी
काठमाडौं । हामीकहाँ हावाबाट बिजुली निकाल्ने कुरा ठट्टाको विषय बन्दछ । तर फिनल्याण्डका वैज्ञानिकहरुले हावाबाटै हामीले खाने प्रोटिन उत्पादन गर्न थालेका छन् । अझ खुसीको कुरा त के भने हावाबाट तयार पारिने प्रोटिन आगामी दश वर्षभित्र सोयाबिनभन्दा सस्तो हुने दाबी वैज्ञानिकहरुको छ ।
प्राकृतिक रुपमा माटोमा पाइने एक व्याक्टेरियाले प्रोटिन उत्पादन गर्दछ । आकाशमा मेघ गर्जनसहित बिजुली चम्किँदा पानीका कणबाट टुक्रिएको हाइड्रोजन तत्वबाट माटोमा पाइने व्याक्टेरियाहरुले प्रोटिन उत्पादन गर्दछन् ।
वैज्ञानिकहरुले यही प्राकृतिक प्रक्रियालाई प्रयोगशालामा दोहोर्याउन सफल भएका छन् । यदि पूर्णरुपमा सौर्य वा हावाको ऊर्जाबाट आवश्यक बिजुली उत्पादन हुन सकेमा यसरी उत्पादन हुने प्रोटिन निकै सस्तो पर्नुका साथै खाना उत्पादन गर्ने प्रक्रियामा हरितगृह ग्यासको उत्सर्जन शून्य बराबर हुने वैज्ञानिकहरुको दाबी छ । साथै यसले कृषिसँग सम्बन्धित विभिन्न समस्या समाधानका लागि समेत मद्दत गर्ने अपेक्षा गरिएको छ ।
राजधानी हेलसिन्कीस्थित सोलार फुड परियोजनाका वैज्ञानिकहरुले हावाबाट प्रोटिन निकाल्ने आफ्नो अनुसन्धानका लागि आवश्यक लगानीको जोहो गरिसकेका छन् । बिजुलीको घट्दो मूल्यलाई आधार मान्दा हावाबाट प्रोटिन उत्पादन गर्न लाग्ने खर्च सन् २०२५ वा ३० भित्रमा सोया उत्पादनमा हुने खर्चजस्तै हुन आउनेछ ।
वैज्ञानिकहरुले हावाबाट उत्पादिन प्रोटिनयुक्त पिठो तयार गरेका छन् । जसलाई सलेन भनिन्छ । परीक्षणको क्रममा रहेको उक्त पिठो बेस्वादिलो छ । वास्तवमा हरेक खानेकुराहरु स्वादविहीन बनाउन चाहन्छन् वैज्ञानिकहरु । वैज्ञानिकहरुका अनुसार उत्कृष्ट माछामासु तयार गर्नका लागि समेत यो प्रोटिनको प्रयोग गर्न सकिन्छ ।
वैज्ञानिकहरुको योजनाले सफलता पायो भने विश्वमा प्रोटिनको बढ्दो माग पूर्ति गर्न सहज हुनेछ ।
यद्यपि कृत्रिम खानेकुराको यो अवधारणा अन्तरीक्ष उद्योगका लागि सन् १९६० को दशकदेखि नै सुरु भएको थियो । तथापि यस्तो खानेकुराको व्यवसायिक उत्पादन विश्वमा हुन सकेको छैन । खुसीको कुरा के भने फिनल्याण्डको यस कारखानाले सन् २०२५ देखि नै हावाबाट उत्पादित प्रोटिनयुक्त खानेकुराको व्यवसायिक उत्पादन सुरु गर्नेछ ।
कृत्रिम प्रोटिनयुक्त पिठो अर्थात् सलेन बनाउनका लागि विद्युत विच्छेदन प्रक्रियाबाट पानीबाट हाइड्रोइनलाई अलग गरिन्छ । उक्त हाइड्रोजन, हावाबाट लिइएको कार्बनडाइअक्साइड र खनिज पदार्थ व्याक्टेरियालाई खुवाइन्छ, जसबाट प्रोटिन बन्दछ ।
यद्यपि बिजुलीको अहिलेको मूल्यका कारण यसरी उत्पादित प्रोटिन महंगो पर्न जान्छ । तर जब नविकरणीय ऊर्जाको उत्पादन बढ्दै जान्छ, तब यो प्रोटिन सस्तो बन्नेछ । एक अनुसन्धानअनुसार सन् २०३५ सम्ममा यसरी उत्पादित प्रोटिन जनावरबाट उत्पादित प्रोटिनको तुलनामा १० गुणा सस्तो हुनेछ ।
नविकरणीय ऊर्जा प्रयोग गरी हावाबाट खानेकुरा तयार गर्ने यो परियोजना विश्वको वातावरण संरक्षणका लागि रामवाण सावित हुने वैज्ञानिकहरुको तर्क छ ।
जलवायु वैज्ञानिकहरुका अनुसार खाद्य उत्पादनका क्रममा हुने हरितगृह ग्यास उत्सर्जनले विश्वको पर्यावरणमा उल्लेख्य असर पारेको छ । साथै मान्छेले खानका लागि जिवजन्तु तथा वनस्पतीको विनाश हुनेक्रम बढ्दै जाँदा त्यसले वातावरणमा नोक्सानी बढाएको छ । कृषिक्षेत्र हरितगृह ग्यास उत्सर्जनको प्रमुख स्रोत बनेको छ ।
खेतबारीविना नै खाद्य पदार्थ उत्पादन गर्न सकिने यस परियोजनाले पर्यावरण बचाउनका लागि अहम् भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः मंगलबार २९ पौष