भोलि नेपालको सबैभन्दा ठुलो स्टार्टअप प्रदर्शनी,२०० भन्दा बढि स्टार्टअपहरुको प्रदर्शनी रहने
काठमाडौँ । नेपालका प्रविधि व्यवसायीहरूको समुह गुगल बिजनेस ग्रुप काठमाडौंले भोलि पौष १२ गते शनिबार आयोजना गर्न लागेको स्टार्टअप प्रदर्शनी जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २०० भन्दा धेरै स्टार्टअपहरुको प्रदर्शनी रहने भएको छ ।
जीबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न लागिएको कार्यक्रमको यो दोस्रो संस्करण हो ।
नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ ।
यस कार्यक्रममा स्टार्टअप प्रदर्शनीसँगै विशेष वर्कशप कार्यशालाहरु पनि संचालन गरिनेछ जहाँ नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् ।
समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ ।यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन ।
अनि, स्टार्टअपहरुसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधन पनि हुँदैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो । साथै, यस कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ ।”
मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्दै छन् । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।
साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् ।
उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।
यस कार्यक्रमले स्टार्टअपहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउने आयोजकको विश्वास छ । धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको थियो । साथै, मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।
प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार
