बल्क मेसेज पठाउने ह्वाट्सएप अकाउन्ट बन्द हुने
काठमाडौं । फेसबुक स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले एकै पटकमा धेरै जनालाई मेसेज पठाउने अर्थात् बल्क मेसेज पठाउने प्रयोगकर्तामाथि कठोर कदम चाल्ने भएको छ ।
ह्वाट्सएपका अनुसार बल्क मेसेज पठाउने ह्वाट्सएप प्रयोगकर्ताका अकाउन्ट बन्द गरिनेछ ।साथै तीव्र रूपमा विभिन्नखाले ग्रुप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारबाही गर्ने तयारी कम्पनीको छ ।
समाचार अनुसार तत्कालका लागि ह्वाट्सएपका सामान्य प्रयोगकर्ताहरू भने यो नियमबाट प्रभावित हुने छैनन् । ह्वाट्सएपले बिजनेस अकाउन्टका लागि मात्रै यो नियम लागू गरेको हो ।
उदाहरणको लागि यदि कुनै ह्वाट्सएप बिजनेस अकाउन्ट केवल पाँच मिनेट अगाडिमात्रै खोलिएको हो र त्यस अकाउन्टबाट १५ सेकेण्डमा १ सय वटा मेसेज पठाइएको छ भने त्यस्तो अकाउन्टविरुद्ध कारबाही गरिनेछ । ह्वाट्सएपले त्यस्तो अकाउन्टलाई बन्दसमेत गरिदिन सक्नेछ ।
साथै केही मिनेटभित्रैमै दर्जनौं ग्रुप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारबाही हुनेछ ।ह्वाट्सएपका अनुसार स्पाम मेसेज रोक्नका लागि यस्तो कदम चालिएको हो । गत डिसेम्बर ७ देखि यो नियम लागू गरिसकिएको छ ।
स्मरणरहोस् केही महिना अघि ह्वाट्सएपले स्पाम तथा बल्क मेसेजमा लगाम लगाउनका लागि बल्क मेसेज फरवार्डिङलाई बन्द गरेको थियो । जसअनुसार प्रयोगकर्ताले एक पटकमा केवल पाँचजना साथीलाई मात्र मेसेज फरवार्ड गर्न सक्दछन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर २९ आइतबार