एआईका कारण मानवजाति लोप हुन सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता

भक्तपुर न्यूज

७ जेठ २०८१ ८:५३

एआईका कारण मानवजाति लोप हुन सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका ‘गड फादर’ भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वातामा हिन्टनले एआई बारे चिन्ता व्यक्त गर्दै सरकारले आधारभूत आय निर्धारण गर्नुपर्ने बताएका हुन् ।

विश्वव्यापी आधारभूत आय निर्धारण गर्नुपर्ने उनको भनाइ छ । यसको मतलब सरकारले आफ्नो स्रोतसाधनको वास्ता नगरी प्रत्येक व्यक्तिलाई निश्चित आधारभूत तलब दिनुपर्नेछ ।

आगामी ५ देखि २० वर्ष भित्रमा मानिसले एआईले सिर्जना गरेको विभिन्न समस्याहरु भोग्नुपर्ने उनको आशंका छ । हिन्टनका अनुसार एआईले मानिसका लागि ‘विलुप्त हुने खतरा’ निम्त्याउन सक्छ किनभने एआई जैविक बुद्धिमत्ताभन्दा धेरै उत्कृष्ट बौद्धिकतामा विकास हुँदै आएको छ । यो निकै चिन्ताजनक रहेको उनको भनाइ छ ।

यसअघि हिन्टनले एआई च्याटबटको खतरा पनि डरलाग्दो रहेको बताएका थिए । उनका अनुसार आगामी दिनमा च्याटबट मानिसभन्दा धेरै बौद्धिक साबित हुनेछ । यति मात्र होइन, यी च्याटबटहरू गलत उद्देश्यका लागि प्रयोग हुने सम्भावना पनि रहेको छ ।

जेफ्री हिन्टनले गत वर्ष गुगल इकाईमा काम गर्दै गर्दा एआईको बारेमा आफ्नो बयानका कारण चर्चामा आएका थिए । हिन्टनले भनेका थिए, ‘एआईबाट उत्पादकता र पैसा बढ्छ, तर यो पैसा धनी मानिसहरूमै जान्छ, जसले गर्दा धनी झन धनी र गरिब भने गरिबनै रहन्छन् । यसका साथसाथै एआईका कारण मानिसहरुको रोजगारी गुम्ने छ र यो समाजका लागि निकै नराम्रो साबित हुनेछ ।’

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *