ओपेरा ब्राउजरको मोबाइल एपमै एआई टुल, के छ नयाँ सुविधा ?
काठमाडौं । अब ओपेरा ब्राउजरको एन्ड्रोइड एपमा पनि एआई फिचर उपलब्ध हुने भएको छ । ओपेराले आफ्नो एआई टुल एरिया (Aria) मा अपडेट गरेसँगै वेब पेजहरूको सारांश गरिदिने भएको हो ।
यो फिचर प्रयोग गर्न तपाईंले ओपेराको पछिल्लो भर्सन प्रयोग गरेको हुनुपर्छ । साथै ओपेरा अकाउन्ट पनि बनाएको हुनुपर्छ । एआई टुलको लाेकप्रियतासँगै विभिन्न ब्राउजरहरूले एआई फिचर ल्याइरहेका छन् । यस दौडमा ओपेरा गत वर्षदेखि नै जोडिएको थियो ।
ओपेराको एआई टुलले च्याटजीपीटी, जेमिनाई लगायतका च्याटबट जसरी नै काम गर्ने गर्छ । पछिल्लो समयमा ओपेराले यसमा विभिन्न थपिरहेको छ । हालै मात्र इमेज जेनेरेट गर्न ओपेराले यस टुलमा गुगलको लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) प्रयोग गरेको छ ।
आफ्नो एन्ड्रोइड फोनबाट ओपेराको यस टुल प्रयोग गरी कुनै पनि वेब पेज सारांश गर्न निम्न तरिका अपनाउनुहोस्:
-ओपेराबाट कुनै पनि वेब पेजमा जानुहोस् ।
-दायाँमाथिल्लो भागमा भएको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
-त्यसपछि ‘समराइज’ भन्ने विकल्प छान्नुहोस् ।
-त्यसपछि एउटा च्याट बक्समा एरियाले तयार पारेको सारांश आउँछ ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार