नेपालमा पछिल्लो समय भित्रिएका नयाँ मोबाइलहरु
काठमाडौं । नयाँ प्रविधिको विकाससँगै विश्वमा नयाँ टेक्नोलोजीहरुको विकास पनि भइरहेको छ । योसँगै विभिन्न मोबाइल ब्राण्डहरुले नयाँ नयाँ फिचरहरुका मोबाइलहरु विश्व बजारमा ल्याउन थालेका छन् । यसरी विकास भएर आएका मोबाइलहरु नेपाली बजारमा पनि भित्रिने क्रम बढेको छ ।
नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा नेपालमा विभिन्न अफरसहित विभिन्न कम्पनीहरुले नयाँ नयाँ मोडलका नयाँ फिचरसहितका मोबाइलहरु नेपालमा भित्र्याएका छन् । कोरोना महामारीबीचमा पनि विभिन्न नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, साढे १४ हजारदेखि दुई लाख ५० हजार मूल्यका मोबाइल रोजेर किन्न सकिने भएको छ ।
स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–२
सामसुङको बहुप्रतीक्षित फोल्डएबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–२ नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ । किताब जस्तै फोल्ड गर्न मिल्ने स्मार्टफोन इ–कमर्स प्लेटफर्म स्मार्टडोको डटकमबाट पाँच हजार रुपैयाँ अग्रिम बुझाएर प्रि–बुकिङ गर्न सकिनेछ । यो स्मार्टफोन इ–कमर्स प्लेटफर्ममा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।
फोनमा ह्यान्ड्स फ्री क्यामेरा दिइएको छ, जसको मद्दतले हातले वेभ गरेकै भरमा फोटो खिच्न सकिन्छ । स्मार्टडोकोबाट यो फोनको प्रि–बुकिङ गर्दा १९ हजार ९९९ रुपैयाँको सामसङ ग्यालेक्सी बज लाइभ निःशुल्क पाइनेछ । साथै ग्राहकले एक पटकको लागि १२ महिनाभित्र स्क्रिन फुटेमा बीमा पनि प्राप्त गर्नेछन् ।
स्मार्ट डोकोका अनुसार प्रि–बुकिङका लागि ग्राहकहरुले पाँच हजार रुपैयाँ सुरुमै भुक्तानी गर्नु पर्नेछ । बाँकी भने ह्यान्डसेट प्राप्त भएपछि भुक्तानी गर्दा हुनेछ । अघिल्ला वर्षहरुमा सामसुङका फोल्डिङ फोनहरु नेपालमा नभित्रिएको आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले बताए । उनका अनुसार यो पटक नेपालमै पहिलो पटक सामसङ ग्यालेक्सी जेड फोल्ड टू स्मार्टफोन स्मार्ट डोकोबाट प्रि–बुकिङ गराउन सफल भएको छ । यो फोन एकदमै राम्रो र अपग्रेड भर्सनका साथ नेपाली बजारमा उपलब्ध हुने उनको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड टूको प्रि बुकिङ असोज २८ गतेसम्म खुल्ला रहनेछ । यो फोनका लागि स्मार्टडोकोले देशभर निःशूल्क डेलिभरीको सुविधा पनि उपलब्ध गराएको छ ।
साओमीको स्मार्टफोन एमआई टेन
भर्खरै मात्र साओमीले आफ्नो नयाँ फ्ल्यागशिप १०८ मेगापिक्सेल क्यामेरा र १४४ हर्ज रिफ्रेश रेट भएको स्मार्टफोन एमआई टेन सार्वजनिक भएको छ । यो फोन पनि आफ्ना पूर्वर्ती एमआई नाइन र नाइन टी प्रोको जस्तै फिचर र स्पेसिफिकेसनमा केन्द्रीत रहेका छन् ।
सन् २०१९ मा बजारमा उपलब्ध स्मार्टफोनहरुमा एमआई नाइन टी प्रो एउटा उत्कृष्ट फोन रहेका कारण मानिसहरुले टेन टी प्रोबाट पनि ठूलो अपेक्षा राखेका छन् । यो फोनको विशेष फिचर भनेको यसको स्क्रिन र ब्याट्री नै रहेको छ । यसमा ६.६७ इन्चको १०८० पिक्सेल २०.९ एलसीडी स्क्रिन रहेको छ । यसको स्क्रिनको रिफ्रेश रेट पनि १४४ हर्जको रहेको छ । जुन हाई इण्ड गेमिङ मनिटरमा मात्र पाउन सकिन्छ ।
यो मोवाइल फोनको स्क्रिनमा एलसीडी प्यानलको प्रयोग भएको छ भने फिङ्गरप्रिन्ट सेन्सर पावरबटनतिर रहेको छ । यसमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ जुन अहिलेका कमै मात्र फ्ल्यागशिप फोनहरुमा देखिन्छ । ९.३३ एमएम मोटाइ भएको यस फोनको तौल २१८ ग्राम रहेको छ ।
यसमा ३३ वाटको यूएसबी टाइप सी फास्ट चार्जिङ राखिएको छ । यो फोनबाट साओमी कम्पनीले सस्तो मूल्यमा हाई पर्फमेन्स दिने लक्ष्य लिएको छ । यसमा स्नापड्रागन ८६५ प्रोसेसर रहेको छ भने आठ जीबी र्याममा १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा आएको छ । यसमा ह्यापटिक फिडब्याक सिस्टम, स्टेरियो स्पिकर र २० मेगापिक्सेलको पन्च होल सेल्फी क्यामेरा रहेको छ । यसको ब्याक सेटअपमा निकै ठूलो क्यामेरा बम्प रहेको छ । जसमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ । यस्तै बाँँकी चार साना मोड्युलमा एउटा १३ मेगापिक्सलको अल्ट्रावाइड, पाँच मेगापिक्सेलको म्याक्रो क्यामेरासँगै एउटा एलईडी फ्ल्याश रहेको छ ।
सोओमीकै चिनियाँ स्मार्टफोन एमआई १० र एमआई नोट १०
चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीका बजारमा एमआई १० र एमआई नोट १० लाइट स्मार्टफोन उपलब्ध छन् । एमआई १० को सबैभन्दा आकर्षक विशेषता भनेको यसमा रहेको १०८ मेगापिक्सेलसहितको क्वाड क्यामेरा सेटअप हो, यसमा चारवटा क्यामेरा राखिएको छ । यो स्मार्टफोनमा थ्रिडी कबर्ड एमोलेड डिस्प्ले र फास्टेस्ट ३० वाट वायरलेस चार्जिङ सुविधा छ ।
मोबाइलमा ४७८० एमएच क्षमताको ब्याट्री राखिएको छ । क्यामेरामा रहेको प्राइमरी सेन्सरले नांगो आँखाले नदेखिने विवरणहरूको अल्ट्रा क्लियर सटहरू खिच्न सक्ने कम्पनीको दाबी छ । यसको क्यामेराले ३० एफिएसमा युएचडी ८ के भिडियो खिच्न सक्छ । एमआई १० सुन्दर डिजाइन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन भएको स्मार्टफोन हो । दुईवटा कलरमा उपलब्ध यो स्मार्टफोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ रहेको छ ।
साओमीकै एमआई नोट १० लाइटमा ६४ एमपी क्वाड कोर सेटिङ छ । यसमा ५२६० एमएएच क्षमताको ब्याट्री हुनाले एकपटक चार्ज गरेर दुई दिन प्रयोग गर्न सकिन्छ । यो ६ जिबी र्याम र १२८ जिबी रोमसहित तीन कलरमा उपलब्ध छ । यसको बजार मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, साओमीकै रेडमी नोट ९ प्रो–म्याक्स पनि नेपाली बजारमा उपलब्ध छ ।
यसमा नयाँ क्वालकम स्न्यापड्रैंगन ७२० जी प्रोसेसरका साथ इन्ट्रिगेसन, ५०२० एमएएच क्षमताको ब्याट्री लगायत सुविधा छन् । नोट १० लाइटमा ६४ मेगापिक्सेल ब्याक क्यामेरा छ । यस्तै, फ्रन्टमा ठूलो ३२ एमपी सेन्सर छ, जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ । रेडमी नोट ९ प्रो म्याक्स ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएकोलाई ३१ हजार ९९९ र ८ जिर्बी याम र १२ जिबी स्टोरेज क्षमता भएको भेरियन्टलाई ३४ हजार ९९९ रुपैयाँ पर्छ ।
एमआई कै टेन टी र टेन टी प्रो
यस्तै एमआईको अर्काे मोडल एमआई टेन टी पनि रहेको छ । टेन टी र टेन टी प्रोबीच ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर छ । यसमा स्नापड्रागन ७५० जी प्रोसेसर, ४ हजार ८ सय २० एमएएचको ब्याट्री र १२० हर्जको एलसीडी स्क्रिन रहेको छ । एमआई टेन प्रोको तुलनामा एमआई टेन टी प्रोमा स्लिकर डिजाइन, सानो बेजल र कबर्ड ओलेड प्यानल भने छैन । साथै यसमा इनडिस्प्ले सेन्सर र भर्सटाइल क्वाड क्यामेरा पनि छैन ।
हालै विश्वबजारमा आएको एमआई टेन टीको मूल्य ४९९ युरो ९६८ हजार २५० रुपैयाँ तथा टेन टी प्रोको मूल्य ५९९ युरो ९८२ हजार रहेको छ । नेपालमा समेत सम्भवतः त्यसैको आसपासमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यही अक्टोबर १५ मा छिमेकी भारतमा सार्वजनिक हुने यो फोन नेपालमा सार्वजनिक हुने विषयमा हालसम्म आधिकारिक तवरमा कुनै जानकारी प्राप्त भएको छैन ।
सामसुङको ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन
अहिले नेपाली बजारमा सामसुङको ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन उपलब्ध छन् । नोट २० सिरिजमा कम्प्युटरमा जस्तै काम गर्न सकिने र गेमहरू खेल्न सकिने कम्पनीले जनाएको छ । नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रिन कलरमा उपलब्ध छ । यस्तै, नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक कलरमा उपलब्ध छ ।
नेपाली बजारमा नोट २० को मूल्य एक लाख नौ हजार ९९९ र नोट २० अल्ट्राको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । नोट २० अल्ट्रा फाइभ जी नेटवर्क प्रविधिमा आधारित छ । नोट २० मा ६४ मेगापिक्सेल र नोट २० अल्ट्रामा १०८ मेगापिक्सेल ट्रिपल रियर क्यामेरा रहेका छन् जसले ८ के क्वालिटीको भिडियो खिच्न सक्छ । अगाडिको सेल्फी क्यामेरा १० मेगापिक्सेलको छ । नोट २० मा ६.७ इन्च र नोट २० अलट्रामा ६.९ इन्च ठूलो डिस्प्ले रहेको छ ।
एप्पलको आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स स्मार्टफोन
पछिल्लो समय नेपाली बजारमा एप्पलको आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स स्मार्टफोन उपलब्ध रहेका छन् । एप्पलको नेपाली विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले गत वर्ष आइफोन ११ सिरिज नेपालमा सार्वजनिक गरेको थियो । यसै वर्षभित्र एप्पल आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । नेपालमा २५६ जिबी स्टोरेज भएको आइफोन ११ को मूल्य एक लाख ४४ हजार, ११ प्रोको मूल्य एक लाख ६९ हजार र ११ प्रो–म्याक्सको मूल्य एक लाख ८६ हजार रुपैयाँसम्म रहेको छ ।
नेपालमा आइफोन ११ सिरिजको विभिन्न भेरियन्ट र स्टोरेज क्षमता हेरीकन एक लाख १८ हजारदेखि २ लाख ३७ हजार सम्मका पाइन्छ । आइफोन ११ प्रो र ११ प्रो म्याक्स विभिन्न चार वटा कलरमा आएका छन । आइफोन ११ मा ६.१ इन्च, ११ प्रोमा ५.८ इन्च र ११ प्रो म्याक्समा ६.५ इन्चको डिस्प्ले छ । यो मोबाइलबाट ४ के भिडियो खिच्न सकिन्छ ।
एप्पलले भर्खरै मात्र आइफोन एसई सार्वजनिक गरेको छ । यो स्मार्टफोन १६ जिबी, ६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज क्षमतामा बजारमा आएको छ । जसको मूल्य क्रमशः ३५ हजार, ६७ हजार ५००, ७६ हजार र ९० हजार रुपैयाँसम्म रहेको छ । यसमा ४.७ इन्चको डिस्प्ले, १२ मेगापिक्सेल क्यामेरा, ३ जिबी र्याम १८२१ एमएएच क्षमताको ब्याट्री रहेको छ ।
वान प्लस ८ र ८ प्रो स्मार्टफोन
नेपाली विक्रेता आई हबसँग सम्झौता गरेर मोबाइल एप रिचार्जरले भदौ तेस्रो साता नै वान प्लस ८ र ८ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो समय वान प्लस ब्रान्डका मोबाइल नेपालीमाझ लोकप्रिय बन्दै गइरहेका छन् । दुवै मोडल १२ जिबी र्याम र २५६ जिबी स्टोरेज क्षमतामा नेपालमा भित्रिएका छन । वान प्लस ८ मा पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित तीनवटा क्यामेरा पनि रहेका छन ।
यस्तै, वान प्लस ८ प्रोमा दुईवटा ४८ र ४८ मेगापिक्सेलका क्यामेरासहित चारवटा क्यामेरा राखिएको छ । दुवै मोडलको फ्रन्टमा १६ मेगापिक्सेल क्यामेरा छन । वान प्लस ८ मा ४३०० एमएएच क्षमताको ब्याट्री रहेको छ भने वान प्लस ८ प्रोमा ४५१० एमएएच क्षमताको ब्याट्री छ । वान प्लस ८ मा ६.५५ इन्चको डिस्प्ले छ भने ८ प्रोमा ६.७८ इन्चको डिस्प्ले छ । नेपाली बजारमा वान प्लस ८ को मूल्य ९३ हजार र वान प्लस ८ प्रोको मूल्य एक लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
सिजनकै स्लिकेस्ट फोनः ओपो एफ १७ प्रो
नेपालमा ओपो एफ १७ को फस्ट सेलमार्फत विक्रि खुल्ला गरिएको छ । सेप्टेम्बर २७ तारिकदेखि ओपो एफ १७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ १७ पनि सार्वजनिक भएको छ । अहिले बजारमा उपलब्ध गरिएको ओपो एफ १७ को बजार मूल्य ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ १७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी गरेको छ ।
ओपो एफ १७ मा सेल्फी क्यामेराका लागि वाटर ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ/ २.२ सहित १६ एमपी क्षमताको प्राइमरी शुटर ८ एमपी वाइड एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सरसहित क्वाड(क्यामेरा सेटअप दिइएको छ ।
त्यसैगरी, फोनको अघिल्लो भागमा १६ एमपी क्षमताको शुटरको ब्यवस्था फोनमा छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप सी पोर्ट मार्फत सपोर्ट हुने ३० वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ओपो एक अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड रहेको छ । २००८ देखि आफ्नो पहिलो स्मार्टफोन स्माइली फेस सुरु गरेदेखि नै ओपो सौन्र्दय सन्तुष्टि र नविन टेक्नोलोजीको तालमेलको अथक प्रयासमा रहेको छ ।
नेपालमा नोकिया २.४ स्मार्टफोन
एचएमडी ग्लोबलले गत आइतबारबाट नेपालमा नोकिया २.४ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको छ । यसमा रहेको ४५०० एमएएच क्षमताको ब्याट्री दुई दिनसम्म राम्रोसँग टिक्ने कम्पनीले दाबी गरेको छ ।
यसमा फिंगरप्रिन्ट र फेस अनलक जस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर पनि छन । एन्ड्रोइडको प्रतिज्ञा अनुसार नोकिया २.४ मा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट मिल्ने भएको छ । यसको अर्थ यो फोन एन्ड्रोइड इलाभेन र ट्वेल्भका लागि समेत तयार पारिएको छ ।
यो फोनको क्यामेराको कुरा गर्दा यसमा सिरिजमै पहिलो पटक डुअल क्यामेरा भएको, एआई इमेजिंगबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर समावेश छ । यसमा भएको नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगबाट नोकिया २.४ ले अँध्यारो अवस्थामा पनि जीवन्त विवरणहरु कैद गर्न सक्दछ । प्रिमियम डिजाइन र नयाँ आधुनिक रंग, डस्कको सुविधा यो फोनमा रहेको छ । यसको थ्रीडी न्यानो टेक्स्चर कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ । यसमा दुई जीबी र्याम र ३२ जीबी रोम रहेको छ । यो फोन नेपाली बजारमा १४ हजार ५९९ मा उपलब्ध हुनेछ ।
प्रकाशित मितिः २०७७ असोज २६ सोमबार