फाइबर इन्टरनेट जडान गर्ने उपभोक्ता ‌संख्यामा १५ प्रतिशतले वृद्दि

भक्तपुर न्यूज

२५ भदौ २०७७ १०:०८

फाइबर इन्टरनेट जडान गर्ने उपभोक्ता ‌संख्यामा १५ प्रतिशतले वृद्दि

काठमाडौं। गत आर्थिक वर्ष २०७६/७७ मा फाइबर इन्टरनेट जडान गर्ने उपभोक्ता १५ प्रतिशतले बढेका छन्। गत आवको सुरुआती महिनामा ५ लाख ७८ हजारभन्दा बढीले फाइबर इन्टरनेट सेवा लिएका थिए भने गत आवको अन्तिममा त्यो संख्या बढेर ८ लाख ६० हजार नाघेको छ।

पछिल्लो समय उपभोक्ताहरु वायरलेस र केबल इन्टरनेटबाट फाइबर इन्टरनेट प्रविधिमा सिफ्ट हुने क्रम बढ्दो क्रममा रहेको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्। नेपालमा ३७ वटा आइएसपीहरुले मात्रै फाइबर केबलबाट इन्टरनेट सेवा दिइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। एक लाखभन्दा बढी फाइबर केबलबाट इन्टरनेट दिने सबै निजी क्षेत्रका आइएसपी रहेको प्राधिकरणले जानकारी दिएको छ।

फाइबर इन्टरनेटमा वर्ल्डलिंकको दबदबा
गत आवमा फाइबर केबलबाट सबैभन्दा बढी इन्टरनेट सेवा लिने ग्राहकको सूचीमा वर्ल्डलिंक कम्युनिकेसन्स् अघि छ। वर्ल्डलिंकको फाइबर केबल प्रविधिबाट ३ लाख ७३ हजार २ सय ३५ जनाले इन्टरनेट प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ। दोस्रोमा भायनेट कम्युनिकेसन्स् छ जसको ग्राहक संख्या १ लाख ११ हजार ७० पुगेको प्राधिकरणले जनाएको छ।

क्लासिक टेक र सुबिसुले भायनेटलाई पछ्याइरहेका छन्। क्लासिक टेकले १ लाख ५ हजार ५ सय ७ र सुबिसुले १ लाख ४ हजार ९९ जना ग्राहकलाई फाइबर इन्टरनेट सेवा दिइरहेका छन्। यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकमबाट फाइबर इन्टरनेट लिनेको संख्या जम्मा ३७ हजार १ सय ३८ जना मात्रै रहेको प्राधिकरणले जनाएको छ। गत आवमा टेलिकमका झण्डै २ लाख ग्राहक केबल इन्टरनेट नै चलाइरहेको तथ्यांक प्राधिकरणसँग छ।

गत आवमा वायरलेस इन्टरनेट चलाउनेको संख्या ४८ हजार र केबल इन्टरनेट चलाउनेको संख्या २ लाख ६२ हजारभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ। आव ०७५/७६ मा फाइबर इन्टरनेट प्रयोग गर्नेको संख्या ५ लाख ५९ हजार हाराहारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मितिः २०७७ भदौ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *