हुवावेईको वाईसिक्सएस सार्वजनिक
काठमाडौं । हुवावेईले आफ्नो वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोनमा हुवावेई वाईसिक्सएस सार्वजनिक गरेको छ । यसमा ६.०९ इन्चको एचडी डिस्प्ले तथा शक्तिशाली कार्यक्षमता रहेको कम्पनीको भनाइ छ । मेमोरी क्षमता बढाइएको उक्त स्मार्टफोन निकै आकर्षक रहेको कम्पनीले दाबी गरेको छ ।
वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोन जस्तै यसमा सुलभ मूल्य, उत्कृष्ट गेमिङ तथा फोटोग्राफी र विशिष्ट अडियोभिडियो लगायतका विशेषता छन् । यो कालो र नीलो रंगमा उपलब्ध छ । वाईसिक्सएसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा रहेको कम्पनीको भनाइ छ । त्यस्तै, हुवावेई वाईसिक्सएसमा १३ एमपी रियर क्यामेरा, ८ एमपीको फ्रन्ट क्यामेरा, ३ हजार २० एमएएच ब्याट्री जडित छ । ३ प्लस ६४ जीबी वाईसिक्सएसको बजारमूल्य १४ हजार ९९० रुपैयाँ तोकिएको छ ।
हुवावेईका उत्पादन १७० भन्दा धेरै देशमा उपलब्ध छन् । सन् २०१९ मा मोबाइल फोन शिपमेन्टका आधारमा कम्पनी विश्वकै दोस्रो स्थानमा रहेको थियो । सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिट स्मार्टफोन निर्यात गरिसकेको कम्पनीले बताएको छ । अघिल्ला वर्षको तुलनामा यो आँकडामा २६ प्रतिशतले वृद्धि भएको हो ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार