इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख
काठमाडौं । एक दशकको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको कम्पनीले जनाएको छ । यसैगरी अप्रत्यक्षरूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।
कम्पनि ११औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्छन्, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सीमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्उने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार