माओवादीभित्र संविधान संशोधन बारेमा छलफल सुरु
काठमाडौं, २५ कार्तिक । संविधान संशोधनका विषयमा साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल सुरु गरेको छ ।
संविधान संशोधनमा सरकार र सत्तारुढ गठबन्धनले आलटाल गरिरहेको आरोप लगाउँदै मधेस केन्द्रित दलले सरकारको समर्थन फिर्ता लिन सकिने चेतावनी दिएपछि सरकार नेतृत्व माओवादी केन्द्रले त्यसबारे आन्तरिक छलफल सुरु गरेको हो ।
केन्द्रीय कार्यालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति जुटाएर संविधान संशोधन गरिने भन्दै त्यसबारे पार्टीभित्र एक धारणा हुनुपर्ने बताएका थिए ।
केहि नेताले भने सीमाङ्कन हेरफेर र अंगीकृत नागरिकलाई बिशिष्ट पद दिने विषयले दुरगाामी प्रभाव पार्ने भन्दै हतारमा निर्णय नलिन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा संविधान संशोधन र राष्ट्रिय सम्मेलनबारे प्रारम्भिक छलफल भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । लोकमानबिरुद्धको महाअभियोग प्रस्तावबारे पनि बैठकमा छलफल भएको थियो । जारी बैठकमा सरकारको काम–कारवाहीबारे पनि समिक्षा हुने बताइएको छ ।
नेताहरुको बोल्ने क्रम जारी रहेका कारण बैठक शुक्रवार पनि बस्ने छ ।