काठमाडौं । यश स्टारर फिल्म ‘केजीएफ ३’को तेस्रो सिक्वेल छायांकन आगामी अक्टोबर पछाडि सुरु हुने र सन् २०२४ मा रिलिज हुने निर्माताले जनाएका छन् ।
निर्माताले हलिउडका मार्भल सिनेम्याटिक युनिभर्सकै शैलीमा फिल्म निर्माण हुने समेत जनाएका छन् । निर्माता विजय किरागन्दुरले हालैको एक अन्तर्वार्तामा अक्टोबरपछि मात्र फिल्म सुटिङमा जाने बताए ।
उनी केजीएफ फिल्म निर्माण कम्पनी हमबेल फिल्मसका प्रमुख समेत हुन् । दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले भने, ‘हामी मार्भल सिनेम्याटिक युनिभर्सजस्तै शैलीमा फिल्म बनाउन चाहन्छौं । हामी अलग फिल्ममा अलग पात्रहरु ल्याउन चाहन्छौं । स्पाइडरम्यान र डक्टर स्ट्रेन्जमा जस्तो । जसकारण हामी दर्शकमाझ पुग्न सक्छौं ।’
केजीएफ २ ले हिन्दीभाषी क्षेत्रमा समेत भारतमा ४२० करोड कमाएको छ । विश्वभर यसको कमाइ १२०० करोड भारु निकट पुग्न लागेको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ०५ बिहिबार
Comments