काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र डाक्टरको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिएको खबरमा उल्लेख छ । उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए ।
उनले अभिभावकले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा यो दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रोत्साहन गरेको छ । दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल सङ्क्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments