भक्तपुर । हरेक बर्ष भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट सिद्धपोखरीमा मेला लाग्ने गर्छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्न विहान देखि नै भक्तजनको घुइँचो लागेको हो ।
देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख, समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी खौमा देखि सिद्धपोखरी सम्म परिक्रमा गराएपछि उक्त पोखरीको पश्चिम द्धारमा लगरे बिराजमान गराई तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउने परम्परा रहेको छ । यस समयमा परम्परागत बाजागाजाका साथ दाफा, भजन गाउने समेत प्रचलन छ ।
सिद्धपोखरीमा लिच्छवीकाल देखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरू रहेकाछन् । अनावृष्टि हँुदा सिद्धपोखरीमा आई वासुकी नागलाई पूजा गर्ने र जलवृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन रहेकोछ भने, पोखरीमा रहेको शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको निको हन्छ भन्ने जनविश्वास रहिआएको छ ।
यस्तै ईन्द्रजात्राको दिन हिजो सिद्धपोखरीमा दिपावली समेत गर्ने गरिन्छ । ईन्द्रजात्राको साँझ खौमा टोल स्थित ईन्द्रायनी देवीको खट जात्रालाइ स्वागत गर्न सिद्धपोखरीमा दिपावली गर्ने प्रचलन रहिआएको छ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments