मनोहराबाट गोरु चोरेर काट्ने चार पक्राउ
भक्तपुर । मध्यपुर थिमी नगरपालिका– १ मनोहरामा गोरु चोरेर काटिरहेको अवस्थामा प्रहरीले चार जना पक्राउ परेका छन् ।
गोठमा बाँधेको बहर गोरु चोरी गरी मनोहरा खोला छेउमा काटी भाग लगाउँदै गरेको अवस्थामा ठिमी प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी पसिर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–६ का ४२ वर्षीय जगत कुमार थापा मगर, सोहि जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ का ३३ वर्षीय नरेश लिम्बु, सोहि स्थानका ३७ वर्षीय बसन्त लिम्बु र पाँचथरकै याङवरक गाउँपालिका–२ का ४४ वर्षीय सागर भन्ने सन्त कुमार बेघा रहेको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनीहरुको साथबाट काठको विड सहितको दाउ १ थान, फलामको विड भएको दाउ १ थान, प्लाष्टिकको विड भएको छुरी १ थान, फलामको विड भएको छुरी १ थान र काठको अचानो १
थान समेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई मंगलबार जिल्ला अदालत भक्तपुरमा पेश गरी पशुपंक्षी सम्बन्धि कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
प्रकाशित मितिः २०७६ असोज २९ बुधबार