बडादशैंको तेस्रो दिन : आज चन्द्रघण्टाको आराधना
काठमाडौं । बडादशैंको तेस्रो दिन आज मंगलबार भगवती दुर्गाको दोस्रो स्वरुप चन्द्रघण्टा देवीको आराधना गर्ने गरिन्छ । माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ ।
चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरुले पूजा गर्छन् ।
दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरु बढेका छन् ।
उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
प्रकाशित मितिः २०७६ असोज १४ मंगलबार