भक्तपुरका मतदान केन्द्र अपाङगमैत्रीविहीन
भक्तपुर, १८ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भक्तपुर जिल्लामा रहेका सत्प्रतिशत मतदान केन्द्र अपाङगमैत्री छैनन् । सरकारले अपाङमैत्री मतदान केन्द्र निर्माण गर्न यसअघि नै निर्देशन दिएपनि भक्तपुरका मतदान केन्द्र अपाङगमैत्री हुन नसकेका हुन् ।
जिल्लामा रहेका अधिकांश केन्द्र विद्यालय र तत्कालिन गाविस भवनहरु प्रयोग भएको हुँदा सरकारी निर्देशन अनुसार मतदान केन्द्र अपाङगमैत्री बनाउँन नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए । अपाङ्गता भएका मतदाताले मतदान केन्द्रमा लाइनमा बस्नु नपर्ने, मतपेटिकासम्म पुग्न ¥याम्पको व्यवस्था गर्नुपर्ने र ब्रेललिपी र साङ्केतिक मतपत्रको प्रबन्ध हुनुपर्ने यसअघि नै माग गरेका थिए । तर, भक्तपुरमा उनीहरुको माग सुनुवाई भएको छैन् ।
मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन कसैले ध्यान नदिएका कारण अधिकांश मतदाताले मताधिकार प्रयोगबाट वञ्चित हुनुपरेको र मतदान केन्द्रमा ¥याम्प मात्रै राख्दैमा सबै आठ प्रकारका अपाङ्गता भएका मतदातालाई सहज नहुने जानकारहरु बताउँछन् ।
मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन हरसम्भव प्रयास गरिएपनि नसकिएको स्वीर्कादै प्रमुख राईले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई मतदान केन्द्रमा लाइनमा नबसेर सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको जानकारी दिए ।
मतदान केन्द्र अपाङगमैत्री नभएपनि आशन्न २१ गतेको निर्वाचनका लागी आबश्यक सबै तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचनमा खटिने कर्मचारी सोमबादेखि आ–आफ्ना मतदान केन्द्र जान शुरु गरेको निर्वाचन कार्यालय प्रमुख राईले बताए ।
सम्भवतः मंगलबार बेलुकासम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने र १९ र २० गते मतदाता परिचयपत्र पनि वितरण भइसक्ने जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिए । उनका अनुसार भक्तपुरमा १ हजार ६ सय ७२ जना कर्मचारी निर्वाचनका लागी मतदान केन्द्रमा खटिएका छन् । एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत आठ जना कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचनमा आवश्यकपर्ने सबै सामग्री बुझिलिने काम सोमबारदेखि शुरु भइसकेको राईले जानकारी दिए ।
भक्तपुरका ७८ मतदान केन्द्रमध्ये संवेदनशिलका रुपमा रहेका ३४ मतदान केन्द्रमै सुरक्षा अबस्था फितलो देखिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई यसअघि नै असुरक्षित घोषणा गरिसकेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोण पोखरेलले संवेदनशिल मानिएका मतदान केन्द्रमा अन्इ केन्द्रभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको दाबी गरेपनि स्थानीय मतदाताले भने सुरक्षा अबस्था कमजोर रहेको बताएका छन् ।
दिनदिनै जसो बिष्फोट बनाईएका बम र राखिएका विभिन्न् बस्तुहरुका कारण भक्तपुर जिल्लाका ग्रामिण मात्रै नभई शहरी क्षेत्रकै मतदाता त्रसित अबस्थामा रहेका छन् । जिल्लामा अहिले ७ सयको हाराहारीमा जनपथ प्रहरी, त्यसतिकै हाराहारीमा म्यादी प्रहरी, ३ सयको हाराहारीमा शसस्त्र र नेपाली सेना परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनले मतदानका दिन देखिनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी सो दिन आबश्यकता परेमा संवेदनशिल केन्द्रमा थप सुरक्षाबल पठाईने पनि बताएका छन् ।