काठमाडाैँ । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १९७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट बिहीबार ८५ हजार नयाँ संक्रमित थपिँदा ७ हजार बढीको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ लाख ३ हजार नाघेको छ । बिहीबार सबैभन्दा बढी अमेरिकामा साढे ३३ हजार नयाँ संक्रमित थपिँदा १९ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृतकको संख्या १६ हजार ६ सय पुगेको छ । यस्तै, स्पनेमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ । त्यहाँ १५ हजार ४ सय बढीको ज्यान गइसकेको छ । इटालीमा १ लाख ४३ हजार व्यक्ति संक्रमितमध्ये साढे १८ हजार बढीको ज्यान गइसकेको छ ।
बेलायतमा संक्रमितको संख्या ६५ हजार नाघेको छ । त्यहाँ बिहीबार मात्रै ८ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय नाघेको छ ।
जर्मनीमा १ लाख १८ हजार संक्रमितमध्ये २६ सयको मृत्यु भएको छ । फ्रान्समा १ लाख १७ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १२ हजार बढी संक्रमितको ज्यान गएको छ । विगत २४ घण्टामा मात्रै त्यहाँ १३ सयले ज्यान गुमाएका छन् ।
चीनमा ८१ हजार ८ सय ६५ संक्रमितमध्ये ३३ सयको मृत्यु भएको छ । चीनमा ७७ हजार ३ सय संक्रमित उपचारपछि निको भइसकेका छन् ।
इरानमा संक्रमितको संख्या ६६ हजार नाघ्दा ४ हजार १ सयको ज्यान गएको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार ७ सय पुगेको छ । जसमध्ये २२६ जनाको ज्यान गइसकेको छ । भारतमा २४ घण्टामा मात्रै ४८ जनाले ज्यान गुमाउँदा ८ सय नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रणको पुष्टि भएको छ । जसमध्ये १ बिरामी उपचारपछि घर फर्किएका छन् भने ९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाबाट हालसम्म २०९ देश प्रभावित भइसकेका छन् । बिहीबार बिहानसम्म १६ लाखसंक्रमित हुँदा ३ लाख ५६ हजार बिरामी भने उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मितिः २०७६ चैत्र २८ शुक्रबार
Comments