काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान परिवर्तन गरेको आरोपमा दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार बयान परिवर्तन गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामा र दैलेखको नैमुले गाउँपालिका बस्ने देवबहादुर थापाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा छुट्टाछ्ट्टै मुद्दा दायर गरिएको हो ।
योगेन्द्र ढुंगेल प्रतिवादी भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षी बनाइएका लामाले विशेष अदालतमा प्रतिकूल वकपत्र गरेपछि उनीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता दाहालका अनुसार लामाविरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।
यस्तै, वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षी थापाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले थापाविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरेर जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रकाशित मितिः २०८० असोज १४ आइतबार
Comments