काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत लिग लिडर सातदोबाटो युथ क्लब पराजित भएको छ । एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा सातदोबाटोले जावलाखेल युथ क्लबसँग २-१ गोलअन्तरले पराजित भएको हो ।
६ खेलमा सातदोबाटोको यो दोस्रो पराजय हो । उसले ४ खेलमा भने जित हात पार्दै १२ अंक जोडेको छ । जावलाखेलको यो चौथो जित हो । एक खेलमा बराबरी खेलेको जावलाखेल १३ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । जावलाखेललाई जित दिलाउन फोडे फोफान र नकोटी मासोअबीले एक-एक गोल गरे ।
दिपक राज सिंह ठकुरीले सातदोबाटोका लागि एक गोल फर्काए । यता च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले न्यूरोड टिम (एनआरटी) सँग २-२ गोलको बराबरी खेलको छ । चर्च ब्वाइजका लागि आशिष चौधरी र अनन्त तामाङले एक-एक गोल गरे ।
एनआरटीका लागि रोहन खड्गी र सरोज तामाङले एक-एक गोल फर्काए । चर्च ब्वाइजले ६ खेलमध्ये ३ खेल जित्दा ३ खेलमा बराबरी खेलेको छ । न्यूरोडको भने यो तेस्रो बराबरी हो ।
प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार
Comments