काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि १ सय ७७ रनको जित हात पारेसँगै अमेरिकाको ओडिआई मान्यता पक्का बनेको छ । आइसिसीको नियम अनुसार लिग–२ मा शीर्ष पाँचमा रहने टोलीले सोझै ओडिआई मान्यता सोझै प्राप्त गर्दछन् ।
युएईमाथि नेपालको जितसँगै अमेरिका शीर्ष पाँचमा रहने पक्का भएको हो । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिकाले युएई र पपुवा न्युगिनीलाई पछि पार्दै पाँचौं स्थानमा लिग २ अन्त्य गर्ने पक्का भएको छ ।
युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंक छ । यदि युएई बाँकी दुवै खेलमा विजयी भए ३५ अंक हुनेछ । अमेरिकाको पनि ३५ अंक हुनेछ । नियम अनुसार दुवै टोलीको समान अंक भएमा पहिला नम्बर अफ विन (सर्वाधिक जित) जित हेरिन्छ । दुवै टोलीको जित पनि १६–१६ हुनेछ । यो अवस्थामा हेड टु हेड हेरिनेछ । लिग-२ मा अमेरिका र युएईबीच ६ खेल भएका थिए । जसमा अमेरिका ४ खेलमा जित, एक खेलमा पराजित र एक खेलमा अंक बाँडेको थियो ।
अमेरिका युएईसँग हेड टु हेडमा अघि हुँदा शीर्ष पाँचमा रहने पक्का भएको हो । त्यसैले नेपालको जितले अमेरिकाको ओडिआई मान्यता सोझै पक्का बनेको हो । नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपालले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
नेपालले अव दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेको खण्डमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सिधै खेल्न पाउनेछ । दुई मध्य एक खेल हारेको खण्डमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफमा शीर्ष दुईमा पर्न सके पुन विश्वकप छनोट खेल्न पाउनेछ ।
युएई, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ खेल्ने पक्का भई सकेको छ । युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएकोछ । लिग २ का चार टोलीसँगै जर्सी र क्यानडा प्लेअफमा हुनेछन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोट खेल्न पाउनेछन् । प्लेअफमा ओडिआई मान्यता जोगाउन अव युएईले जर्सी र क्यानडा भन्दामाथि हुनुपर्ने हुन्छ ।
अन्यथा ओडिआई मान्यता चार वर्षको लागि गुम्नेछ । ओमान र स्कटल्यान्ड सोझै विश्वकप छनोटमा पुगेका छन् । अव नेपाल र नामिबिया मध्य एक टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार
Comments