काठमाडौँ । आज बुधबार देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैबिच देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्धि भइरहेकाले गर्मी बढ्ने हुँदा संभावित असरबाट बच्नका लागि तथा पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रकाशित मितिः २०७८ बैशाख १५ बुधबार
Comments