काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री केपी ओलीले जुन १९ देखि २२ तारिख अर्थात असार ५ देखि ८ गतेसम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुवै देशका निजी क्षेत्रका परियोजनामा पनि यहि भ्रमणका क्रममा सम्झौता हुने भएको छ ।
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछ । सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।
असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुनेछ । नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटीबीचको छलफलपछि सोही दिन उर्जा र कृषि सम्बमन्धित निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।
असार ७ गते प्रधानमन्त्रीले महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौताहरुमा हस्ताक्षरपछि पत्रकार सम्मेलन हुनेछ । सोही दिन राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।
असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कने मन्त्री ज्ञवालीले जानकारी दिए ।
Comments