काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आउँदो आर्थिक वर्षको बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेको हो । उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउन नहुने बताएका छन् । उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नका निम्ति म सुझाव दिन चाहन्छु । बरु करको दायरा वृद्धि गरौँ । ुसफ्ट लोनु मा वैदेशिक अनुदान लिऔँ । संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट ‘सफ्ट लोन’ मा अनुदान लिएका हामी पाउँछौँ । गएको वर्षभन्दा एक खर्ब रुपैयाँ कममा बजेट आउँदैछ भन्ने सुनेको छ । अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध के छ भने तपाईँले आँट गर्नुस् । संसारभरिका सम्भावना भएका खोजौँ ।’
सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई/दुई वटा भए पनि राम्रो काम अगाडि बढाउनुपर्ने बताए । उनले ठूला–ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा नागरिकले प्रत्यक्ष अनुभूत गर्नेखालका काम हुनुपर्ने बताए ।
प्रकाशित मितिः २०८० बैशाख २५ सोमबार
Comments