काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीले सर्वोच्चको आदेशसम्बन्धी पत्र नबुझाउँदै अवकास पाउने भएका छन् । सेनाले गतवर्ष पुस २० मा उमेरका आधारमा अवकाश दिन लागेपछि त्यसविरुद्ध उपरथी शाहीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
दुई दिनअघि मात्र सर्वोच्चले उनको अवकाश रोकिदिएको थियो । तर, सर्वोच्च अदालतको पत्र लिएर मुख्यालय जाँदा उनलाई ब्यारेकमा राखिएको हो ।
सैनिक मुख्यालयले भने उपरथी शाहीलाई ‘स्थानहद’ गरिएको जनाएको छ । उनीमाथि आर्थिक अनुशासनको विषयलाई लिएर छानबिन चलिरहेको र अझै प्रक्रिया जारी रहेकोले ब्यारेकबाट बाहिर जान नदिइएको सेनाका नवनियुक्त प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शाहीलाई किन हिरासतमा राखिएको हो भन्ने प्रश्नमा प्रवक्ता भण्डारीले सर्वोच्चको पत्र आउँदा हिरासतमा राखिएको भन्ने भ्रम सृजना भएको भन्दै उनको पहिलेदेखि नै छानबिन जारी रहेको बताए ।
“यो संयोग मात्र हो । उहाँमाथि लामो समयदेखि छानबिन भइरहेको थियो,” प्रवक्ता भण्डारीले बाह्रखरीसँग भने, “उहाँलाई सैनिक हिरासतमा राखिएको होइन । छानबिनको लागि ब्यारेकमा बाहिर जान नमिल्ने गरी राखिएको हो ।”
प्रकाशित मितिः २०७९ पुष १९ मंगलबार
Comments