काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदैछ । नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन् ।
केपी ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि वैशाख २७ गते संविधानको धारा ७६ को उपधारा २ नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा विभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।
जसपाको ठाकुर-महतो पक्षले राष्ट्रपतिलाई भेटेर अर्को पक्षले दिएको निर्णय आधिकारिक नहुने जनाउँ दिँदै सरकार गठनका लागि पत्र आए त्यसलाई बैधता नदिन पनि आग्रह गरिसकेको छ ।
दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।
प्रकाशित मितिः २०७८ बैशाख ३० बिहिबार
Comments