काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज साविक विजेता समेत रहेको मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।दुवै टिम जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ । यता, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो ।
लिग चरणको दुई भेटमा मुम्बईले दुबै खेल जितेको थियो । पहिलो खेल मुम्बईले ५ र दोस्रो खेल ९ विकेटले जितेको थियो । यस्तै, पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो ।
यता, दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरी फाइनलमा पुगेको हो ।
प्रकाशित मितिः २०७७ कार्तिक २५ मंगलबार
Comments