काठमाडौं । इर्लिङ हाल्याण्डले सिनियर टिमबाट पहिलो गोल गरेको खेलमा नर्वे नेसन्स लिग फुटबलमा पराजित भएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा नर्वे अष्ट्रियासंग २–१ ले पराजित बनेको हो ।
समूह इको खेलमा माइकल ग्रेगोरिट्स र मार्सेल सबिट्जरको पेनाल्टी गोलमा अष्ट्रियाले २-० को अग्रता बनाएको थियो । हाल्याण्डले गोल गर्दै नर्वेलाई खेलमा फर्काउने कोशिश गरेपनि टिमको हार टार्न सकेनन् ।
समूह एको खेलमा नेदरल्याण्डले पोल्याण्डलाई हरायो । प्रिमियर लिग क्लब टोटेनहमका स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो ।
घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजिकको नेतृत्वमा नेदरल्याण्ड मैदान उत्रिएको थियो ।
म्यान्चेष्टर युनाईटेडमा भर्खरै ३५ मिलियन पाउण्डमा आबद्ध भएका डोन भान डी विक वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो । गत महिनामात्र उनले बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
समूह एकै अर्को खेलमा इटालीले बोस्निया हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । म्यान्चेष्टर सिटीका इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए । स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए ।
समूह एफको खेलमा चेक रिपब्लिकले स्लोभाकियाबिरुद्ध ३–१ को प्रभाव देखिने जित निकाल्यो । समूह एलको खेलमा काजकिस्तानले लिथुनियालाई २–० ले हराउँदा अल्बानियाले बेलारुसमाथि २–० को जित आत्मसाथ गर्यो ।
प्रकाशित मितिः २०७७ भदौ २० शनिबार
Comments