काठमाडौं । ईभान राकिटिकले अर्को सिजन समेत बार्सिलोनमै बस्ने बताएका छन् । आफ्नो भविष्यका बिषयमा गरिएका विभिन्न अड्कलबाजीमाथि टिप्पणी गर्दै राकिटिकले अर्को सिजन समेत बार्सिलोनमै रहने प्रष्ट पारेका हुन् । उनले यस सिजन नियमित खेल्न नपाउदाँ आफुलाई निराश बनाएको समेत स्विकार गरेका छन् ।
राकिटिक सन् २०१४ मा सेभिल्लाबाट १६ मिलियन पाउण्डमा नाउ क्याम्प आएका थिए । उनले बार्सिलोनाका लागि २ सय ९९ खेल खेल्दै ३५ गोल समेत गरेका छन् ।
क्रोएसियाका अन्तराष्ट्रिय खेलाडी राकिटिकले बार्सिलोनाबाट चार ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले बार्सिलोनामै रहदा आफुलाई युरोपको उत्कृष्ट मिडफिल्डरको रुपमा स्थापित गर्न सफल रहे ।
गत समर ट्रान्सफरमा अजाक्सबाट फ्रेन्की डी जोङ बार्सिलोना आएपछि राकिटिकले कम अवसर पाएका छन् । यस बर्ष राकिटिकले मात्र १० ला लिगा खेलमा अवसर पाएका छन् । सोही कारण खेलाडी सरुवा बजार खुल्ने बित्तिकै सेभिल्लाले राकिटिकलाई पुन अनुबन्ध गर्न चाहेको छ ।
तर राकिटिकले क्रोएसियाको मिडियालाई अन्तरवार्ता दिदै बार्सिलोना छाड्ने आफ्नो कुनै योजना नभएको बताएका छन् ।
केही समय अगाडी मैले क्लबसंग यस बिषयमा छलफल गरेको थिए । निष्कर्श यही छ, मसंग कुरा गर्नका लागि कुनै चिज छैन । किनकी बार्सिलोनासंग मेरो सम्झौता सन् २०२१ सम्म रहेको छ । म बार्सिलोनासंग रहन चाहन्छु र खेल्न चाहन्छु । राकिटिकले भनेका छन् ।
मेरी श्रीमती र बच्चा यस शहरमा खुसी छन् । अरु बिषयमा सोच्नुपर्ने कारण छैन । मैले राम्रोसंग अभ्यास गरिरहेको छु । म निश्चित छु, राकिटिकले बार्सिलोनामा लामो यात्रा तय गर्नेछ । उनले थपे ।
राकिटिकको पछिल्लो एक बर्ष सफल राम्रो रहन सकेन । बार्सिलोनाको प्रशिक्षकमा क्विक सेटियन रहेका छन् । उनले गत जनवरीमा ईर्नेस्टो भाल्भर्डेलाई विस्थापन गर्दै बार्सिलोनाको कमाण्ड सम्हालेका थिए ।
जब तिमी खेल्न पाउदैनौ, यो राम्रो हुदैन । अझ जब तिमीले बुझ्न सक्दैनौ र कुनै कारण थाहा पाउदैनौ । राकिटिकले भने, तर प्रशिक्षकको निर्णयलाई सम्मान गर्छु । म व्यक्तिगत नभएर टिमको खेललाई मान्छु ।
बार्सिलोनाले जुन १३ मा मार्लोकासंग खेल्दै ला लिगाको सुरुवात गर्नेछ । कोरोनाका कारण अबरुद्ध बनेको सिजनको बाँकी खेल बन्द रंगशालामा खेलाउने तयारी छ ।
बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । ला लिगमा अझै ११ चरणको खेल बाँकी रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २६ सोमबार
Comments