काठमाडौं, २२ चैत । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा घरेलु टिम चौराहा धनगढीलाई १८ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।
पहिले ब्याटिङ गर्दै विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । धनगढीका लागि सबैभन्दा बढी रन बनाएका शंकर रानाले २५ रन बनाए भने राजु रिजालले१८ रन बनाए । ओपनर अस्फाक अहमेदले २२ तथा सुनील धमलाले १२ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन् । धनगढीलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका पवनले सर्वाधिक ४ विकेट लिए । यस्तै बसन्त रेग्मी र कप्तान पारस खड्काले समान २–२ विकेट हात पारे। शुभम् कामतले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अन्तिम बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । विराटनगरका लागि पवन सर्राफले सर्वाधिक ४१ रन जोडेका थिए । यस्तै ओपनर अनिलकुमार साहले २५ रन जोडेका थिए भने दिलीप नाथ ४ रनमा आउट भए । बाबर ह्यायत १५ रन बनाएर आउट भए भने कप्तान पारस खड्का २ रनमा आउट भए । पृथु बाँस्कोटा ३ तथा शुभम् कामतको १८ रन बनाए पछि विराटनगर मध्यम स्कोर बनाउन सफल भयो । बलिङतर्फ धनगढीका सुनील धमलाले ४ विकेट लिए भने सोमपाल कामी र रोहान मुस्ताफाले २–२ विकेट हात पारे । ललित भण्डारी र सांसद शेखले १–१ विकेट लिए ।
आजको जितसँगै तीन खेलमा २ जितसहित ४ अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेलबाट ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा झरेको छ ।
विराटनगरको लगातार दोस्रो जित
0
Share.
Comments