काठमाडौं, २७ फागुन । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ मा नेपालले आफ्नो तेस्रो लगातार हार बेहोरेको छ । हिजो भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।
जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले नटआउट रहँदै सर्वाधिक ५२ रन बनाए । त्यस्तै रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमादीले २६ रन बनाए । त्यस्तै रसिद खानले २१ रनको योगदान दिए । समिउल्लाह शेनवारी नटआउट रहँदै ८ रन बनाए । नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट तथा सन्दीप लामिछाने र करण केसीले १÷१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९४ रन बनाउन सफल भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७७ रन बनाएका थिए । ओपनर अनिल शाह ७ रनमा आउट भएपछि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी बनेपनि ज्ञानेन्द्रले ६९ बलमा २४ रन मात्र बनाएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३२ रन तथा आरिफले २३ रन जोडेका थिए । करण केसी ६ रनमा आउट भएका थिए भने वसन्त रेग्मी ९ रनमा नट आउट रहे । नेपाली ब्याट्सम्यानहरुलाई रोक्ने क्रममा मोहम्मद नावीले ४ विकेट लिए भने राशिद खानले ३ तथा शपुद जद्रानले पनि २ विकेट लिएका थिए ।
तीन खेलमा पराजित भएको अफगानिस्तान हिजोको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।
नेपालको लगातार तेस्रो हार
0
Share.
Comments