काठमाडौं, २६ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने १४ औं संस्करणको बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७३ आज प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजना हुँदैछ । अघिल्ला बर्षहरुमा जस्तै ८ बिधामा अवार्ड वितरण गरिनेछ । अवार्डको १४ औं संस्करणमा २०७३ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई गरी विभिन्न आठ विधामा सम्मानित गरिनेछ । मञ्चले ५ विधाका लागि मनोनयनमा पर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिसकेको छ भने अन्य ३ विधाको विजेता भने अवार्डकै दिन घोषणा गरिने जनाएको छ ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका शरद भेषावकर, फुटबलका किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ तथा महिलामा कान्छीमाया कोजू, नङ्सलदेवी तामाङसँगै आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई परेका छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली तथा प्रशिक्षकमा फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा छन् । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा एथलेटिक्सकी कान्छीमाया, पौडीकी गौरिका सिंह, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री परेका छन् । यस्तै प्रशिक्षकतर्फ फुटबलका ग्योतोकु कोजी र एथलेटिक्सका पुष्पराज ओझा, ब्याडमिन्टनका किरण थापा, फुटबलकै मेघराज केसी र क्रिकेटका जगत टमाटा उत्कृष्ट प्रशिक्षक बन्ने होडमा छन् ।
यस्तै मनोनयन घोषणा नगरिएका लाइफटाइम एचिभमेन्ट, स्पेसल र प्यारा–एथलिट अफ द इयरको अवार्डबाट एक–एक जना सम्मानित हुनेछ । मञ्चले उत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस अवार्ड विजेतासँगै प्रशिक्षकलाई पनि पल्सर मोटरसाइकल प्रदान गर्ने जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
Comments