भक्तपुर । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा भक्तपुरका ४२ स्थानबाट खोप लगाइने भएको छ ।
भक्तपुरका ४२ स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११/११ तथा मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १०/१० स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जनाएका छन् । उनका अनुसार दोस्रो चरणका लागि जिल्लामा ५ हजार ९३९ खोप भाइल, ५९ हजार ३९१ सिरिज र ५९४ वटा सेफ्टी बक्स प्राप्त भइसकेको छ ।
अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ ।
जिल्लामा अहिले ५५ वर्षमाथिका ४६ हजार ६८०, शिक्षक शिक्षिका ३ हजार ६२१ जना, औषधी पसलका कर्मचारी २०० जना, सार्वजनिक गाडीका चालक र सहचालक ७१० जना तथा पहिलो चरणमा छुटेको २ हजार २९४ जना गरी जिल्लामा कूल ५३ हजार ५०५ जनालाई खोप लगाएइने छ ।
खोप अभियानमा ४२८ स्वास्थ्यकर्मी र १ हजार २८४ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।
फागुन २३ गतेदेखि २९ गतेसम्म चल्ने दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ ।
जिल्लामा केही दिन अघि दिइएको तथ्यांकअनुसार कोरोना संक्रमितको सङ्ख्या ९ हजार ५७४ जना पुगेको छ भने सक्रिय संक्रमित ४४ र संक्रमितमध्ये १२७ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार
Comments