काठमाडौं । क्यानको मुख्य प्रशिक्षकमा करिब १४ देशबाट ७२ जनाको आवेदन परेको जनाईएको छ । जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, वेष्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्याण्ड लगायत अन्य देशहरु रहेका छन ।
मुख्य प्रशिक्षकमा आवेदन दिनेमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशासायके लगायत अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरको पनि नाम रहेको छ । पुबुदु नेपाल, क्यान्डा तथा अमेरिकाका पूर्व प्रशिक्षक हुन भने, हाइपर्फमेन्सका लागि नेपाल आईसकेका वाटमोर निकै अनुभवी प्रशिक्षक रहेका छन । उनले श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावेको मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका छन । हाल उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रहेका छन ।
यस्तै क्यानको जनरल म्यानेजरमा पनि धेरैको आवेदन परेको क्यान स्रोतले जनाएको छ । जनरल म्यानेजरमा ४७ जनाको हाराहारीमा आवेदन परेको बताइएको छ । रौनक मल्ल, विनोद दास, धिरेन्द्र पन्तले जनरल म्यानेजरमा आवेदन दिएको बताइएको छ । जनरल म्यानेजरमा आवेदन दिने धेरै जसो नेपाली नै रहेको जनाईएको छ । क्यानको फाइनान्स म्यानेजरमा ३३ जनाले आवेदन दिएका छन । क्यानले सेप्टेम्बर तीन तारिखमा विभिन्न पोष्टका लागि आवेदन खुल्ला गरेको थियो ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments