काठमाडौं । ओलिभर जिराउडले कोरोना भाईरसको प्रभावका कारण लण्डन क्लब चेल्सीसंग सम्झौता नविकरण गरेको बताएका छन् ।
कोरोनाका कारण युरोपनै प्रभावित बनेपछि चेल्सीसंग सम्झौता नविकरण गर्ने निर्णयमा आफु पुगेको जिराउडले बताएका हुन् ।
चेल्सी फरवार्ड जिराउडको क्लबसंगको सम्झौता गत जनवरीमा सकिएको थियो । तर चेल्सीले जिराउडको विकल्प खोज्न नसकेपछि फ्रान्सेली स्टार लण्डन क्लबसंग एक बर्ष जोडिन राजी भएका हुन् ।
क्लबका मुख्य फरवार्ड टमी अब्राहमले चोट बाकेपछि जिराउडले चेल्सीको पहिलो रोजाईको रुपमा पछिल्लो समय क्लबको उद्धार गरेका थिए ।
कोरानाले लिग अबरुद्ध हुनुअघि उनले पछिल्ला ५ खेल मुख्य फरवार्डको भूमिका निभाएका थिए ।
अब्राहमको अनुपस्थितीमा जिराउडले गरेको प्रर्दशनलाई सम्मान गर्दै चेल्सीले उनीसंग सम्झौता नविकरणको प्रस्ताव अघि बढाएको हो ।
यसअघि उनी सिजनको अन्तिममा ईन्टर मिलान जाने विकल्पमा छलफल गरिरहेका थिए । दुवै पक्षबीच सम्भावित हस्ताक्षरको बिषयमा समेत छलफल भईरहेको थियो । तर चेल्सीले जिराउडसंग एक सिजन लण्डन क्लबमै बस्ने प्रस्ताव गरेपछि नाटकीय रुपमा फ्रान्सेली स्टार स्टामफोर्ड ब्रिज क्लबसंग सहमत बनेका हुन् ।
‘चेल्सीले मलाई क्लबमै निरन्तरता दिन मौका दियो । मैले तुरुन्त स्विकार गरे । किनकी मलाई यहाँ बस्न मन पर्छ । म उपाधि जित्न चाहन्छु । म प्रशिक्षकलाई देखाउन चाहन्छु, मलाई विश्वास गर्न सक्छौ भनेर ।’ उनले भनेका छन् ।
‘अर्को कुरा कोरोनाको अवस्थाले समेत परिवार सहित बाहिर जान सहज महशुश भएन । मैले स्तरीय बसाईका बिषयमा धेरै सोचे । हामी यहाँ धेरै व्यवस्थित तरिकाले बसेका छौ । मैले परिवारको बिषयमा समेत धेरै सोचेको थिए ।’ उनले थपे ।
जिराउड सन् २०१२ मा आर्सनलसंग जोडिएपछि लण्डन आएका थिए । उनी गत सरुवा बजारमा लण्डन क्लब छोड्न चाहेका थिए । सिरि ए क्लब ईन्टर मिलानले उनलाई अनुबन्ध गर्न चाहेको थियो ।
जिराउड समेत ईन्टर सहित टोटेनहम जाने विकल्पमा खुल्ला देखिएका थिए । तर अरु विकल्न नदेखिएपछि चेल्सी प्रशिक्षक लाम्पार्डले जिराउडको सम्भावित गन्तव्यलाई बन्द गरिदिएका हुन् ।
‘म गत जनवरीमै क्लब छाड्न चाहन्थे । किनकी मैले यहाँ धेरै खेल्न पाएको थिएन । अर्को युरो कपमा स्थान बनाउन मलाई धेरै खेल आवश्यक छ ।’ जिराउडले भने, ‘सोही कारण म क्लब छाड्ने बिषयमा निकै नजिक थिए । तर सायद भगवानले मलाई चेल्सीमै रोक्न चाहेको हुनुपर्छ ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २१ बुधबार
Comments