भक्तपुर अस्पतालको अनिश्चितकालीन बन्द आजबाट खुल्यो
भक्तपुर । विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले गरेको अनिश्चितकालीन बन्द आजबाट खुलेको छ ।
कर्मचारी र अस्पताल प्रशासनबीच बुधबार सहमति भएपछि अस्पताल आजबाट खुलेको हो ।
भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीले मागको सुनुवाई नभएको भन्दै अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालीन बन्द गराएका थिए ।
वार्तामा आन्दोलनरत कर्मचारीहरुका ५० प्रतिशत माग पुरा भैसकेको र बाँकी माग सम्बोधनका लागि ७ दिनको समयसीमा माग गरेकाले आजबाट ओपिडि सेवा सुचारु हुने विकास समितिका पूर्व अध्यक्ष तथा वार्ता टोलीका संयोजक सुरेश न्यौपानेले जानकारी दिए ।
भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने माग राखेका थिए ।
यस्तै, कर्मचारीले अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी अपरेशन सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने मागसमेत राखेका थिए ।
प्रकाशित मितिः २०७६ असार ५ बिहिबार