काठमाडौं । नेपालका महेश्वर महर्जनले विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जितेका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । उनका अनुसार १२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।
महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए ।
प्रकाशित मितिः २०७५ पुष १ आइतबार
Comments