काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास गरेको २० सदस्सीय नेपाली टोली सोमबार मलेसिया पुगेको हो ।
क्यारेबियन प्रिमियर लिगमा व्यस्त नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने मंगलबार मात्र मलेसिया आईपुग्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।
सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो चरणको समाप्तिपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेलको विजेता एसिया कपको लागि छनोट हुनेछ । नेपालले यस प्रतियोगिताका लागि श्रीलंकामा एक साता अभ्यास पनि गरेको छ । नेपालले खेलेका तीनै अभ्या खेल जित्दै तयारीका क्रममा लय समाएको छ ।
नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments