धराप बन्दै नगरकोटको सडक, ठेकेदार उदासिन
भक्तपुर, ५ साउन । पर्यटकिय क्षेत्र नगरकोट जाने सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । सडकका बिचमा भएका खाल्डाखुल्डीले चालक मात्र नभई यात्रुलाई समेत सास्ती भैरहेको छ । यी खाल्डाखुल्डी मर्मत गर्ने तथा सडक सुधारको गतिलाई तीब्र पार्ने तर्फ कसैको ध्यान जान सकेको छैन् । सडक मर्मतका लागि भनेर खनिएका खाल्डाखुल्डी पुर्ने काम समेत निर्माणको जिम्मा लिएका निकायले आफनो जिम्मेवारी पुरा नगर्दा सडक जीर्ण बन्दै गएको हो ।
तीन बर्षअभघ विस्तार थालिएको कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा अझैपनि ढिलाई भएको छ । निर्माण कम्पनीको लापरवाही तथा चाँगुनारायण नगरपालिकाको उदासिनताका कारण यस्तो अबस्था आएको स्थानीय बताउँछन् ।
चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका स्थानीयको भनाई अनुसार ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनीहरुको गुनासो छ । राजनीतिक आड र पाखुराको भरमा लिईएको ठेक्कामा अहिले यी दुबै पहुँचका आधारमा ठेकेदारले निर्माणमा चासो नदेखाएको पाईएको छ ।
यस क्षेत्रका राजनीतिक दल समेत यो सडक तत्काल निर्माण हुनुपर्ने बिषयमा गम्भीर देखिएका छैनन् । सडक जस्ताको त्यस्तै छ बजेट ठेकेदारले खर्च गरिसकेका छन एक स्थानीयले बताए । यस बिषयमा यो सडक निर्माणको जिम्मेवारी लिएका ठेकेदारसँग बुझन खोज्दा उनी सम्पर्कमा आएनन् ।