भक्तपुरको समग्र विकासका लागि लागी पर्छु : नगर प्रमुख प्रजापति
कानूनमा स्नातक उत्तीर्ण सुनिल प्रजापतिको जन्म बि.सं. २०२१ साल असार १० गते भक्तपुर जेंलामा भएको हो । पिता बद्री प्रजापति र माता कृष्णमाया प्रजापतिका सुपुत्र प्रजापति बि.सं. २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।
बि.सं. २०६४ सालमा भएको संविधानसभा चुनावमा भक्तपुर क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गरि विजयी भएका प्रजापतिले १८ हजार १ सय मत प्राप्त गरेका थिए । यस्तै बि.सं. २०७० सालमा भएको दोस्रो संविधान सभामा नेपाली काँग्रेसका रामेश्वर प्रसाद ढुंगेलसँग उनी पराजित भएका थिए ।
यसअघि संविधानसभामा संवैधानिक समितिको सदस्य भएर काम गरिसकेका र नेपाल मजदुर किसान पार्टीको सचिव रहेका उनी बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख पदमा २५ हजार ७ सय ३० मत प्राप्त गरी विजय भएका हुन् ।
भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिसँग कमल न्यौपानेले भक्तपुर न्यूज डट कमका लागि गरेको कुराकानीको सारसंक्षेप : –
भक्तपुर नगरपालिकाको मेयरमा भर्खरै निर्वाचित हुनुभयो ? कस्तो लागेको छ ।
जनताको मन जितेर, जनताकै सेवामा समर्पित हुनका लागि म नगरपालिकाको मेयरमा विजयी भए । मलाई जनताले विश्वास गरेर यहाँसम्म पु¥याउनु भयो । एकदमै हर्षित छु । साथै आफूमा ठूलो जिम्मेवारी थपिएको महशुस भैरहेको छ । आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने आफ्नो योजना रहेको छ ।
नगर प्रमुख भएपछि सवभन्दा पहिलो काम के गर्नु भयो ?
नगर प्रमुख भएपछि सवभन्दा पहिलो काम खानेपानी र सरसफाईको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भईसकेको छ । खानेपानीको मुहानका रुपमा रहेको नगरकोटस्थित मुहान पोखरीको अवलोकन एवं ढल व्यबस्थित गर्न हनुमन्ते खोलाको अनुगमन गरेको र सरोकारवाला निकायका कर्मचारीसँग छलफल गरेर काम अगाडि बढि सकेको अवगत गराउँद छु ।
हनुमन्ते खोला सफाई गर्न हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो संचालनमा ल्याई ढललाई उपचार पोखरीमा राखेर सफा पानी मात्रै खोलामा पठाउने गरि व्यवस्थापन गर्ने योजना रहेको छ ।
भक्तपुर नगरपालिका क्षेत्रको समग्र विकासका लागि तपाईका योजना के के छन् ?
भक्तपुर नगरपालिका आफै योजनाबद्ध नगरपालिका हो । बिशेषगरी यस नगरभित्र विगतदेखि देखिएको खानेपानी समस्या समाधानका लागि पहल शुरु गरेको छु । यहाँको फोहोर व्यवस्थापन, हनुमन्तेखोलाको सुधार, ढल निकासको व्यवस्थापन तथा बजारलाई सफा सुन्दर र हराभरा बनाउने नै पहिलो योजना रहेको छ । अरु त जनताको माग, चाहना र पार्टीको घोषणापत्रमा उल्लेख गरिए अनुसार नै अघि बढ्ने हो ।
भूकम्पका कारण थुप्रै संरचना ध्वस्त भए पुनर्निर्माणको बिषयमा के सोच्नु भएको छ ?
हो केही बर्षअघि आएको भूकम्पले भक्तपुरका स्थानीयबासी मात्रै नभई यहाँका धार्मिक, पर्यटकिय र साँस्कृतिक भौतिक संरचना पनि ध्वस्त भएका छन् । भक्तपुर आफैमा धार्मिक तथा पर्यटकिय नगरी भएको कारण भूकम्पपीडितका समस्या समाधानका साथै ध्वस्त भएका संरचनाको पुनः निर्माण, मर्मत, सम्भार लगायतका कामहरु शुरु भईरहेको छ भने, यस बिषयमा नगरपालिकाको बोर्डमा समेत छलफल भैरहेको छ । भूकम्पले भत्काएको संरचनाहरु पुनर्निर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिईसकिएको र पुरातत्व विभाग र सरोकारवालाहरुसँग छलफल गरी पुर्ननिर्माणलाई तिब्रता दिने सम्पूर्ण तयारी भैसकेको छ ।
साथै भूकम्पपीडित नगरबासीका लागि सुहाउँदो सहयोगका योजना ल्याउने तयारी गरी रहेको जानकारी गराउँदछु ।
अहिले भक्तपुर नगरमा के कस्ता समस्या देख्नु हुन्छ ?
जिल्लाका अन्य नगरपालिकाको तुलनामा भक्तपुर नगरपालिका पुरानो नगरपालिका भएकै कारण पनि यो नगर केही सम्पन्न छ । तर पनि यहाँ अहिले थुप्रै खालका समस्या देखिएका छन् । जस्तो कि भक्तपुर नगरपालिकामा सबैभन्दा ठूलो समस्या भनेकै हनुमन्ते खोला हो यसको सुधारका लागि पहल शुरु भैसकेको छ । यहाँ बजार क्षेत्रमा बिशेषतः पार्किङको समस्या पनि छ । ढल निकासको समस्या पनि उत्तिकै देखिन्छ । बजारको फुटफाट व्यवस्थापन, भित्री बजारका सडक साँघुरा छन् । यी यावत समस्या देखिएकोले प्राथमिकता र समस्या पहिचानको आधारमा विस्तारै समाधान खोज्दै जाने योजना बनाईएको छ । आशा गरौं, ५ बर्षे अवधिमा भक्तपुरका सतप्रतिशत समस्या समाधान भएर जानेछन् ।
भक्तपुर पर्यटकियका साथै शैक्षिक हबका रुपमा पनि चिनिन्छ । यसमा थप विकास योजना केही छन् ?
भक्तपुर नगरमा जन्मेका यहाँका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यबस्थापन भई सकेको छ । नगरपालिकाले विश्वविद्यालय संचालनको सम्बन्धन पाएमा मेडिकल कलेज समेत संचालन गरेर अन्य कलेज भन्दा ५० प्रतिशत कममा डाक्टर उत्पादन गर्ने गरि कार्य अगाडि बढाइएको छ ।
त्यसैगरि, भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पतालको रुपमा विकास गर्ने भएको र भक्तपुरमा रहेको भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र लगायतलाई व्यबस्थित सबै उपचार भक्तपुर मै हुने व्यबस्था गर्ने योजना रहेको छ । त्यस्तै, पर्यटकीय क्षेत्रमा भक्तपुरलाई कला संस्कृति र सम्पदाको खुल्ला बिश्वबिद्यालयका रुपमा बिकास गर्ने तर्फ नपा लागि परेको छ । नेपाल घुम्न आएका पर्यटकहरु मध्ये ३३ प्रतिशत मात्र भक्तपुर आउने अनुपातलाई वृद्धि गर्दै, पर्यटन क्षेत्रमा
विभिन्न रोजगारी दिने योजनाहरु रहेका छन् ।
अन्त्यमा केही भन्नु छ ?
सर्वप्रथम त भक्तपुर न्यूज डट कमलाई धन्यवाद दिन्छु । यसै साथ स्थानीय तहको निर्वाचनमा मलाई र मेरो टीमलाई उत्साहजनक मत दिएर भक्तपुर नगरपालिकाको मेयर लगायतका पदमा जिताउँनु हुने आम भक्तपुर नगरबासीप्रति आभार व्यक्त गर्दछु । आगामी दिनमा जनताकै सेवा गर्ने क्रममा कहीकतै समस्या उत्पन्न भएमा पनि तपाईहरुको साथ सहयोग सल्लाह सुझावको अपेक्षा पनि गरेको छु । भक्तपुरलाई देशकै नमूना नगरका रुपमा विकास गर्ने अभियानमा सबैको साथ सहयोग रहनेछ भन्ने आशा पनि गरेको छु । फेरी पनि आफनो अमूल्य मतदान गरी हामीलाई जिताउनु हुने सबै मतदाताप्रति धन्यवाद दिन चाहन्छु ।