यसरी गर्न सकिन्छ बाढी – पहिरोको रोकथाम
नेपाल हरेक बर्ष बाढी-पहिरोको जोखिममापर्दै आएको छ । पूर्व तयारी र जोखिम न्यूनिकरणतर्फ सरोकारवालाहरुको ध्यान जान नसक्दा हजारौं घरबार बिहिन बन्नु परेको छ भने ठूलो परिमाणमा प्राकृतिक बिपत्ति भोग्नु परेको छ । कस्ता खालका प्राकृतिक समस्या नेपालले भोग्नु परेको छ र यसको न्यूनिकरण तर्फ अगाडी बढे कसरी कम क्षती हुन सक्छ ? यी र यस्तै बिषयमा केन्द्रित भएर भक्तपुरन्यूज डटकमले युवा वातावरण बिज्ञ कमलराज गोसाँइसँग गरेको कुरोकानीको सारसंक्षेप ।
कस्तो छ बाढी – पहिरोको जोखिम नेपालमा ?
नेपालले हरेक बर्ष बाढी र पहिरोको सामना गर्दै आएको छ । नेपालमा ८० प्रतिशत पानी जेठ देखि भदौ सम्म पर्ने गर्दछ । यो पानी हिमाल र पहाड हुँदै तराई सम्म पुग्दा बाढीको रुप लिने गर्दछ । जसको प्रत्यक्ष पीडाको भोगाईमा लाखौ मानिस पर्दछन् । हजारौं घर डुवानमा पर्ने र लाखौं मानिस बिस्थापित हुने र लाखौं हेक्टर जमीन डुवानमा पर्नुका साथै हजारौं मानिसले आफ्नो ज्यान गुमाउनु परेको छ ।
नेपालका बिभिन्न भागमा बाढी – पहिरो किन आउने गर्दछ ?
नेपालमा बाढी – पहिरो आउनुको प्रमुख कारण जलबायु परिवर्तन हो । जलवायु परिवर्तनले गर्दा कहिले अधिक र कहिले कम पानी पर्छ, यो दुवै क्रम राम्रो होइन । बढी पानी पर्दा बाढी आउने र कम पानी पर्दा माटो सुख्खा हुने हुँदा पहिरोको जोखिममा पर्ने सम्भावना अधिक रहन्छ । नेपमालमा भौतिक बिकासका नाममा वातावरणमा कस्तो असर पर्छ भन्ने तर्फ ध्यान नदिएर डोजर आँतक मच्चाउँदै प्रकृतिलाई तहस नहस पार्नुका साथै मनलाग्दो बस्ती बिस्तार कै कारण प्राकृतिक असन्तुलन बढ्दा बाढी – पहिरो निम्तिएको देखिन्छ ।
यसरी हुने डुवान र बाढी – पहिरोको रोकथाम कसरी गर्न सकिन्छ ?
हरेक क्षेत्रको नीति नियम बनाउँदा र बिकास गर्दा त्यसले वातावरणमा कस्तो प्रभाव पर्न सक्छ भन्ने तर्फ ध्यान दिन नसक्दा बाढी-पहिरोको घटना दिन प्रतिदिन बढ्दो प्रतिदिन बढ्दो छ । एकिकृत बिकासको योजनाहरुलाई ब्यवहारमा ल्याउन सक्नु पर्छ, बाटो बनाउने, पुल बनाउने, बस्ती बिस्तार लागएत भौतिक बिकासलाई निरन्तरता दिँदा पर्यावरणलाई पहिलो प्राथामिकतामा राख्नु पर्छ । बृक्षा रोपण कार्यक्रम हरेक बर्ष झै हुन्छ तर यसको संरक्षण तर्फ ध्यान दिन सकिएको छैन । वायोइन्जीनियरिङ प्रणालीलाइ अवलम्वन गर्नु बाढी पहिरो रोकथामको अचुक उपाय बन्न सक्छ । सडक बिस्तारका क्रममा कंक्रिट र ग्याबियन वाललाई माात्र उपयोग गर्नुको साटो त्यस क्षेत्रको भूवनोटमा पाईने रुख बिरुवा रोपेर बाढी तथा भूक्षय कम गर्न सकिन्छ । पछिल्लो समयमा बायोइन्जिनियरिङलाई प्राथामिकतामा राखिएता पनि यसको अझै ब्यापक उपयोगिता तर्फ सरोकारवालाहरुरले ध्यान दिनु आवश्यक देखिन्छ ।
नेपालका सबै भन्दा बढी बाढी – पहिरोको जोखि कुन क्षेत्र पर्छ ?
सरसरती बुझ्ने हो भने पनि बाढीको जोखिम रहेको क्षेत्र नेपालको तराई नै हो भने पहिरोको जोखिम पहाडी क्षेत्र नै हो । बिशेष त ठूला नदी क्षेत्रका आसपासका क्षेत्र बाढीको कहरमा पिल्सने गरेका छन् । तराइका सम्पूर्ण जील्ला बाढीमा पर्ने गरेको छ । केही समय अघि चितवन जिल्लाका धेरै भाग डुवानमा परेको थियो । बिशेषत महोतरी, रौतहट, बाँके, बर्दिया, कपिलबस्तु, रपन्देही, दाङ लगाएतका जिल्ला डुवानमा परेको बिगतले देखाउँछ । पहिरोको हकमा यो बर्ष लम्जुङ, बजाङ, गुल्मी, पाल्पा, रुकुम, काँस्की, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, जाजरकोट, तनहुुँ संखुवासभा लागाएत पहाडी जिल्ला पहिरो चेपटामा परेका छन् । सरसरती नियाल्दा जुन जुन जिल्ला मध्य लोक मार्ग भए गएको छ त्यस क्षेत्रमा पहिरो गएको तथ्याँकले देखाएको छ ।
काठमाडौं उपत्यका डुवानको प्रमुख कारण के होला ?
उपत्का डुवानको प्रमुख कारण भनेको अब्वस्थित शहरी बिकास नै हो । खोलाका कारण डुवान भएको होईन मानव बस्तीको बिस्तारकै कारण डुवान भएको देखिन्छ । बिगतम खोला आसपास घरहरु थिएनन् र खोलालाई समस्याको रुपमा हेर्ने गरिँदैन थियो तर पछिल्लो समय खोला अतिक्रमणको शिकार बन्यो र बस्ती डुवानका रुपमा हेर्न थालिएको जस्तो लाग्छ । यसो हेर्दा खोल मानव बस्तीलाई नचाहिएको जस्तो देखिन्छ । खोलाको बहावलाई नियन्त्रण गर्न खोलको किनारमा लगाइएको वाल पनि डुवानको एक कारण हो । माटो र पानी बिचको तालमेललार्इं बिथोल्नु , उपत्यका भित्र भएका जग्गा पलटिङले जमीन नाँगो पार्ने काम हुनु , जमीनले पानी सोस्न नसक्नु र सिधै खोलामा पस्नु र माटो समेत बग्दै आउँदा खोलको सतह बढ्दै जान्छ र खोलाम आएको पानीले आफ्नो प्राकृति बहाव भन्दा अर्को बाटो लिँदा बाढीको चपेटामा उपत्यका तीनै जिल्ला पर्ने गरेको छ ।
उपत्कामा डुवान न्यूनिकरण गर्न सरोकारवालाहरुले कस्तो भूमिका निर्वाह गर्नु पर्छ जस्तो लाग्छ ?
काठमाडौं उपत्यका कचौरा आकारको छ । वरी परि पहाडहरु छन्, प्रमुख बस्ती वा नगरपालिकाहर खाल्डोमा छ । नगरपालिकाहरु रहेको स्थानको भूवनौट फरक फरक रहको छ । कुनै भूबनौटको आधारम उचाई सतहमा रहेका छन् भने कुनै समथर भू-भागमा रहेका छन् । पानीेको बहाव भने माथि बाट तल झर्ने भएका कारण माथिल्लो भु-भागमा रहेका नगरपालिकाहरु र समथर भुभागमा रहेका नगरपालिकाहरुले एक आपसमा समन्यवय नगरे सम्म समस्याको समाधान हुँदैन । नगरपाकिहरुले एक अर्कासँग समन्वय गरेर बाढी तथा पहिरो जोखिमको क्षेत्रको पहिचान गर्ने र समाधानका उपायहरु केलाउँदै एकिकृत बाढी तथा पहिरोको ब्यवस्थापन यौजना तर्जुमा तथा कार्यान्वयन गर्नु पर्दछ ।
बाढी – पहिरो नियन्त्रण गर्न नेपालमा बिज्ञहरुको भूमिका न्यून रहेको छ भनिन्छ नी ?
यो प्रश्न आंशिक रुपम सत्य हो । हरेक क्षेत्रमा काम गर्दा बिज्ञहरुसँग सल्लाहा सुझाव माँगिन्छ तर त्यसलाई ब्यवहारमा कार्यान्वन गरिँदैन । सुझाब माग्ने तर त्यसको प्रयोग नहुँदा आम जनमानसमा बिज्ञहरुको बिज्ञता माथि प्रश्न उठ्नु स्वभाविक हो । तीनै तहको सरकारले नेपालमा रहेका हरेक बिज्ञहरुको उपयोग गर्नेे हो भने बाढी पहिरोको जोखीम न्यूनिकरण गर्न सकिन्छ ।
भनेपछि बिज्ञहरुको सुझाब आवरोधक को हो त ?
आरोप प्रत्यारोप गर्नु भन्दा बिगतका गल्तीहरुबाट पाठ सिक्दै अघि बढ्नु पर्ने देखिन्छ । तीनै तहको सरकराले स्पष्ट खाका ल्याएर अघि बढ्नु पर्दछ । नीतिगत तहमै कमी कम्जोरी रहनु , भ्रष्टाचारको चँगुलबाट माथि उठ्न नसक्नु, फोहोरी राजनीतिको हावी हुनु , समाजका जान्ने सुन्ने र ठूला बडा भनाउँदाहरु आफै बिज्ञ बनेर यौजना कार्यान्वयन गर्नु यि र यस्तै अवरोधले गर्दा बिज्ञहरुको सुझाब लागू हुन नसकेको देखिन्छ ।
के बिज्ञहरु पनि राजनीति बाट अछुतो रहन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको हो त ?
केही हदसम्म यो बिषयले मेल खान्छ । नेपालको हरेका क्षेत्रमा देखिएको राजनीतिक हावीलाई नियन्त्रण नगरे सम्म यस्तै अवस्था रहिरहन्छ जस्तो लाग्छ । बिज्ञ भनेको देशको हितमा परिचालित हुन पर्छ, हरेक मानिस राजनीतिक प्राणी भएता पनि बिज्ञहरुको हकमा यो लागू हुनु हुँदैन । बिज्ञहरुले कुनै पार्टीको भन्दा पनि समग्र देशको हितलाई ध्यान दिन सके यो नै बिज्ञ र देशका लागि लाभ रहन्छ जस्तो मलाई लाग्छ ।
अन्त्यमा ?
वातावरण सबैको साझा सम्पत्ति हो, वातावरण रहे हामी रहन्छै जल वायु र माटोमै हाम्रो प्राण र भविष्य रहेको हुन्छ , द्रब्य र शक्तिको लोभमा यी तीन प्राकृतिक तत्वहरु र प्राकृतिक प्राणलीलाई चुनौति दिने काम नगरौ । प्रकृतिको अस्तित्वलाई कसैले लूटको खेती बनाउँछ भने कानुन अनुसार सजायको भागि बनाऔं । आफ्नो बिचार राख्न दिएको भक्तपुरन्युज डटकम परिवारलाई धन्यवाद ।