मैले अरुलाई भन्दा पनि आफ्नो कर्मलाई नै प्रतिद्वन्द्वी ठानेको छु : सुवास लामा
भक्तपुर क्षेत्र नं २ क प्रदेशसभा अन्र्तगत जनता समाजवादी पार्टी (जसपा) का तर्फका उम्मेदवार सुवास लामासँग गरिएको कुराकानीको सारसंक्षेप :
निर्वाचनको तयारी कस्तो चलिरहेको छ ?
– निर्वाचनलाई लक्षित गरेर विभिन्न खालका गतिबिधिहरु सञ्चालनमा ल्याएका छौं । घरदैलो कार्यक्रम, कोणसभा मतदातासँग भेटघाट लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
घरदैलो कार्यक्रममा मतदाताको कस्तो खालको अपेक्षा र गुनासोहरु पाउनु भयो ?
– घरदैलो कार्यक्रममा मतदाताहरु ठूला पार्टीसँग रुष्ट रहेको पायौं । बिगतमा मतदातामाझ लिएर गएको घोषणापत्रको कुनै पनि काम नभएको गुनासो पायौं । विकासको सपना बाँड्ने काम मात्र भएको र त्यसले पूर्णता पाउन नसकेको पायौं । युवा उम्मेदवार हुनुहुँदो रहेछ केहि गर्न सक्ने सम्भावना रहेको आशय ब्यक्त गरेको पायौं । साना भन्दा साना योजनाको मागमा मतदाता छन् ठूला ठूला योजनाका आशा नगरेको घरदैलोमा पायौं ।
तपाईको एजेन्डा कस्तो छ ?
– म सबैभन्दा पहिला पार्टीले जुन घोषणा पत्र लिएर मतदातामाझ गएको छ त्यो नै मेरो एजेन्डा हो । यस प्रदशेमा देखिएका विविध समस्याहरुको सम्बोधन आफू विजय भएपछि गर्नेनै छु । त्यसकारण चुनावको समयमा विभिन्न खालका मतदाता लोभाउने एजेन्डा भन्दा पनि यस क्षेत्रका मतदाताको दुःख सुखको साथी बन्ने छु । यो नै मेरो मुख्य एजेन्डा हो ।
तपाईलाई मत किन ?
– राजनीतिमा देखिएको विभिन्न खालका बिकृतिको अन्त्य गर्दैै मतदाताको हरेक पलको साथी बन्ने क्षमता राख्ने भएकाले आफूलाई मत दिन्छन् । अझ यस क्षेत्रका विविध खालका समस्याहरुको पहिचान गरेर सम्बोधन गर्न सक्छु जस्तो लाग्छ । यस क्षेत्रको भुगोललाई नजिकबाट बुझेकाले विभिन्न विकासका गतिबिधिलाई अगाडी बढाउन सक्ने आँट र भरोसा भएकाले आफूलाई मतदाताले मत दिनेमा विश्वस्त छु ।
कस्ता विषयले तपाँईलाई मतदाता माझ जाँदा प्रभाव पार्यो ?
– शिक्षा स्वास्थ्य बाटोघाटो जस्ता विषयले सबैलाई सताएको पायौं । यस्तै, स्थानीय स्तरमा हुने उत्पादनलाई ब्यवस्थापन गर्न नसकेको पायौं, रोजगारीको समस्या जस्ताको तस्तै पायौं, जेष्ठ नागरिकका सवालमा अझै ब्यापक सुधार गरिनु पर्ने अवस्था देखियो, एकल महिलाको सवाल राज्यले गर्नु पर्ने सम्बोधनमा कन्जुस्याई गरेको पायौं, समस्याका चाङ्गै चाङ्ग र त्यसलाई सुल्झाउने बिगतका जनप्रतिनिधिले नगरेको पायौं ।
तपाईले यस क्षेत्रमा कसलाई प्रतिद्वन्द्वी ठान्नु भएको छ ?
– सबैभन्दा पहिला म आफू विजयी हुनेमा आशाबादी छु । मैले अरुलाई भन्दा पनि आफ्नो कर्मलाई नै प्रतिद्वन्द्वी ठानेको छु र त्यसलाई पराजय गर्नेमा निश्चित छु ।