काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग भिड्दै छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट सुरु हुनेछ ।
दुवै टोली खेलमा जित निकाल्दै ३ अंक बटुल्न चाहान्छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् ।
जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।
छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ भने एक खेल बराबरी खेलेको छ ।
जोर्डनपछि नेपालले जेठ २८ गते अष्ट्रेलियाको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७८ जेठ २४ सोमबार
Comments