जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे विजयी
काठमाडौं । जिल्ला सहकारी संघ, काभ्रको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन । संघको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई ४१ मतअन्तरले हराउँदै पोटे अध्यक्ष निर्वाचित भएका हुन् । पोटेले १ सय ९० र शाक्यले १ सय ४९ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला उपाध्यक्षमा मिरा सत्याल विजयी भएकी छन् भने, उपाध्यक्षमा शान्ति लामा तामाङ, सचिवमा प्रकाश बञ्जरा, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भएका छन् । सत्यालले १७२, तामाङले १७०, बन्जाराले १ सय १८६ र सापकोटाले १७६ मत प्राप्त गरे ।
त्यसैगरी संघको संचालक सदस्यहरुमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रञ्जित, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा बलाम मानन्धर र सुदर्शन अधिकारीले बराबर १ सय ५४ मत प्राप्त गरेका कारण गोलाप्रथाबाट अधिकारी विजयी घोषित भएका छन् । महिला सदस्यमा यसअघि नै देवकी तिमल्सिना दाहाल निर्विरोध भएकी थिइन् ।
यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवन राज कर्णजीत निर्वाचित भएका छन् ।
३ सय ४६ जना मतदाता रहेकोमा निर्वाचतमा ३ सय ४३ मत खसेको थियो ।