नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूमा आजदेखि गुँला पर्व सुरु
काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूमा सोमबारदेखि गुँला पर्व धुमधामसँग सुरु भएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा यो एक महिना अवधि लिने गरिन्छ ।
काठमाडौं स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’को अर्थ ‘महिना’ भएकोले नेपाल सम्वतको नवौँ महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।
हरेक बिहान गुलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व सुरु गरिन्छ । सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व सुरुवातमा निकालिन्छ । नेवार समुदायका गोपालीले पानीका मुहानमा पुजा गरी परिक्रमा गर्ने चलन छ ।
असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समय खोल्ने गरिन्छ । मानव रक्षा र विभिन्न अवस्थामा भएका मानवीय गल्ती प्रायश्चित गर्न यो पर्व मनाउने गरिने कथन छ । संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार गुँला पर्वमा बौद्ध स्तुपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवानको ध्यान गर्ने परम्परा छ ।
दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको उनले सुनाइन् ।